
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालै सम्पन्न स्पेन भ्रमणबारे ‘मान्छे छाडेर आयो’ भन्ने जस्ता भ्रामक र झुटा प्रचारप्रति आपत्ति जनाएका छन्। उनले स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्न नियोजित रूपमा गलत सूचना फैलाइएको दाबी गर्दै यस्ता कुराप्रति प्रतिक्रिया दिनुपर्ने आवश्यकता नरहेको बताए।
प्रधानमन्त्री ओलीले आज झापाको दमक नगरपालिकाअन्तर्गत मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गर्दै उक्त भनाइ राखेका हुन्। ‘स्पेनमा मान्छे छाडेर आयो भन्ने हल्ला झुटो र गलत हो,’ प्रधानमन्त्री ओलीले भने,‘यस्ता विषयमा जवाफ दिन जरुरी ठान्दिनँ, भ्रमण उद्देश्यपूर्ण र सफल रह्यो।’
विश्व बैंकको सहयोगमा सम्पन्न ४.८६ किलोमिटर लामो सो सडक नेपालभर छानिएका १७ गौरवका आयोजना मध्ये एक हो। यसलाई ४४ करोड २४ लाख लागतमा समयमै सम्पन्न भएको नमुना परियोजना मानिएको छ।
प्रधानमन्त्री ओलीले यो सडक देशभरका विकास आयोजनाका लागि उदाहरणीय भएको जनाउँदै मेचीदेखि महाकालीसम्म सरकारको कामसक्ने अभियान अगाडि बढिरहेको बताए। उनले दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण गरिने घोषणा पनि गरे।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्रीहरू शेरधन राई, उद्धव थापा लगायतको उपस्थिति रहेको थियो।