
बुटवल- प्राचीन कपिलवस्तु राज्यको राजधानी सहर तिलौराकोट दरबारबाट सिद्धार्थ गौतमले ज्ञानको खोजीका लागि राजसी सुखसयल त्याग गरेको दिनको स्मरणमा बिहीबार मध्यरातमा महाभिनिष्क्रमण दिवस मनाइएको छ।
२६२० वर्षअघिको घटना स्मरण गर्दै राजा शुद्धोधनका छोरा युवराज सिद्धार्थले दरबारको सुखसुविधा त्याग गरी ज्ञानको खोजीका लागि सेतो घोडा चढेर तिलौराकोटको पूर्वी गेटबाट बाहिरिएको घटना चित्रण गरी दिवस मनाइएको हो।
लुम्बिनी विकास कोष, कपिलवस्तु नगरपालिका र कपिलवस्तु नगरपालिका वडा नम्बर ३ को सहकार्यमा बुद्ध सर्किट डटकम नेपाल र गच्छामि मिडिया ग्रुपद्वारा तिलौराकोट परिसरमा आयोजित दिवसमा महाभिनिष्क्रमणलाई उत्सवका रूपमा प्रत्येक वर्ष मनाउनुपर्नेमा जोड दिइएको थियो।
सिद्धार्थ गौतम बुद्धत्व प्राप्त गरेपछि महात्मा बुद्धका नामले प्रख्यात भएका थिए। युवराज सिद्धार्थले बुद्धत्व प्राप्तका लागि ज्ञानको खोजीमा आफ्नो सुखसयल त्याग गरी मानवकल्याणका लागि हिँडेकाले असार शुक्ल पूर्णिमाका दिन मनाइने यो दिवसले विशेष सन्देश दिनेछ।
लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्य र पत्रकार किरणमान बज्राचार्यलाई सांकेतिक रूपमा राजकुमार सिद्धार्थका रूपमा घोडामा चढाएर राजप्रासादको पूर्वी ढोकाबाट ज्ञानको खोजीमा हिँडेको दृश्य चित्रण गराइएको थियो।
कार्यक्रममा कोषका सदस्यसचिव शाक्यले प्राचीन कपिलवस्तु (तिलौराकोट दरबार) बुद्धकालीन गृह त्यागको दृश्यले आध्यात्मिक पर्यटनको विकास गराउने बताए। उनले २६२० वर्षअघि युवराज सिद्धार्थले गृह त्याग गरेको दिनमा त्यही दृश्यलाई स्मरण गर्दा शान्ति, सद्भाव र करुणाको ऊर्जा पैदा भएको बताए।
यस्तै लुम्बिनी विकास कोषका सदभावना दूत तथा महाभिनिष्क्रमण (गृहत्याग) कार्यक्रमका परिकल्पनाकार विक्रम पाँणेकाजीले विगत सात वर्षदेखि तिलौराकोटमा निरन्तर रूपमा स्थानीयको सक्रियतामा महाभिनिष्क्रमण दिवस मनाउँदै आएको बताए।
आफूले परिकल्पना गरेको दिवस, कुदान उत्सव र माता मायादेवी सुत्केरी मार्ग पर्यटकीय प्रडक्टका रूपमा स्थापित हुने चरणमा पुगेको बताउँदै उनले कपिलवस्तुको पर्यटन विकासमा सहयोगी बनेको बताए। पाँणेकाजीले आगामी दिनमा लुम्बिनी विकास कोषले नै दिवसको अपनत्व लिएर कार्यक्रमको आयोजना हुने जानकारी दिए।
कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले कपिलवस्तु नगरपालिका सहित बुद्धको जीवनी जोडिएका पाँच पालिकाले बुद्ध परिपथका लागि योजना निर्माण गरी कार्यक्रम अगाडि बढाएको बताए।
उनले कपिलवस्तु नगरपालिकासहित देवदह नगरपालिकाको सहकार्यमा आगामी आर्थिक वर्षमा सिद्धार्थ गौतमको विवाह उत्सवसमेत मनाउन बजेट छुटाएको बताए। यस्तै दिवसका अवसरमा गच्छामि मिडिया ग्रुपका सञ्चालक मनोज पौडेल, कपिलवस्तु वडा न. ३ का वडाध्यक्ष प्रकाश गैरे, लुम्बिनी विकास कोष तिलौराकोट कार्यालयका प्रमुख माधव आचार्य, पत्रकार महासंघ कपिलवस्तुका कार्यवाहक अध्यक्ष खगप्रसाद चापागाईले महाभिनिष्क्रमण दिवसले पर्यटन विकासमा महत्त्वपूर्ण टेवा दिएको बताए।
राजकुमार सिद्धार्थ गर्भ प्रवेश गरेको दिन, प्रथम धर्म देशना गरेको दिन र मातालाई दुशितलोकमा अभिधम्म देशना गरेको दिनको रूपमा अषाण पूर्णिमा परिचित छ। सन् २०१९ देखि सुरु भएको महाभिनिष्क्रमण दिवसलाई अपनत्व लिने गरी सदभावना दूत पाँणेकाजीले सदस्यसचिव शाक्यलाई पत्र हस्तान्तरण गरेका थिए।