चितवनमा रोपाहार पाइन छाडे

हिमाल प्रेस २५ असार २०८२ १५:२५
14
SHARES
चितवनमा रोपाहार पाइन छाडे

चितवन- पछिल्ला दिनमा धान रोपाइँ गर्न मजदुर पाउन कठिन भएपछि प्रविधिको प्रयोगलाई बढाइएको छ। छिटोछरितो काम गर्न कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाइएको हो। अहिले प्रविधिको प्रयोग बढेसँगै कामदारको सङ्ख्यामा कमी आएको छ। विगतका वर्षको तुलनामा जनशक्ति कम प्रयोग हुन थालेको हो। धान रोप्ने समयमा जिल्लामा तराई मूलबाट आउने मजदुर बढी हुने गरेको भए पनि अहिले भने त्यो सङ्ख्या घटेको हो।

राप्ती नगरपालिका–५ मा रहेको जनजागृति हरियाली ताजा तरकारी एवं फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्ष धर्म कँडेलका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्ष तराईबाट आउने कामदारको सङ्ख्यामा कमी आएको छ। उनले भने, ‘कामदार नपाए पछि अहिले किसानले प्रविधिको प्रयोग गरेर धान रोप्न थालेका छन्।’

उनी आफैँले पनि श्रमिक नपाए पछि प्रविधिको प्रयोग गरेर धान रोपेको सुनाए। धान रोप्नका लागि जिल्लाका कामदार नपाउने र तराईबाट आएका मजदुरको भर पर्नुपर्ने अवस्थालाई धान रोप्ने मेसिन राईस ट्रान्सप्लान्टर प्रयोग गर्ने गरिएको छ। अहिले किसानलाई धानको बीउ राख्न बानि नपरेकाले समस्या भएको भए पनि यसलाई सिकाउँदै प्रविधिको प्रयोग बढाउन आफू लागि परेको उनले बताए।

खैरहनी नगरपालिकाको कुमरोजमा रहेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष तेज बर्तौला कामदार लगाउँदा मूल्य दिनुपर्ने ज्यालाभन्दा प्रविधिको प्रयोगले सस्तो पर्ने भएकाले किसान प्रविधिको प्रयोगमा केन्द्रित हुन थालेको बताउँछन्। बर्तौलाका अनुसार अहिले अघिल्ला वर्षको तुलनामा स्थानीय र तराई मूलका कामदार कम सङ्ख्यामा पाइने गरेको छ। तराई क्षेत्रमा सिँचाइको व्यवस्था भएसँगै त्यहाँका मजदुर कम आउन थालेको उनले अनुमान गरे। उनले भने,‘बैदेशिक रोजार र स्थानीय रुपमा नै पाइने रोजगारीका कारण अघिल्ला वर्षको तुलनामा कम संख्यामा मजदुर आएको पाएका छौँ।’ आफ्नो संस्थामा रहेको मेसीन बिग्रिएसँगै मजदुर नपाएपछि अन्य संस्थाबाट ल्याएर धान रोप्न बाध्य भएको उनले बताए।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख महेश रेग्मीले मजदुरको कमी हुँदै जाँदा प्रविधिको प्रयोग बढ्दै गएको बताए। अहिले जिल्लामा आठ वटा ‘राइस ट्रान्सप्लान्टर’बाट धान रोप्ने काम भइरहेको छ। अघिल्ला वर्षभन्दा कम सङ्ख्यामा मजदुर आए पछि किसानले स्थानीय मजदुर र प्रविधिको प्रयोग गरेका हुन्। छोटो समयमा धेरै क्षेत्रफलमा धान रोप्न सकिने भएकाले पनि मजदुरको भन्दा प्रविधिको प्रयोग बढेको उनले बताए। यसले कृषि क्षेत्रलाई आधुनिकीकरणतर्फ केन्द्रित गर्दै लैजाने उनले बताए।

जिल्लामा २७ हजार २०७ दशमलव २५ हेक्टर क्षेत्रफलमा वर्षे धान रोपाइँ हुँदै आएको छ। जसमध्ये हालसम्म करिब ६० प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको कृषि विकास कार्यालय चितवनका प्रमुख झकनाथ कँडेलले जानकारी दिए। मजदुरको अभावका कारण हुनुपर्ने क्षेत्रभन्दा कममा धान रोपाइँ भएको हो।

प्रकाशित: २५ असार २०८२ १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast