सोवितालाई गृहमन्त्रीले भने- प्रधानमन्त्रीसँग स्पेन गएकामध्ये को फर्किएन, देखाउनुस्

हिमाल प्रेस २५ असार २०८२ १४:५२
32
SHARES
सोवितालाई गृहमन्त्रीले भने- प्रधानमन्त्रीसँग स्पेन गएकामध्ये को फर्किएन, देखाउनुस्

काठमाडौँ- प्रधानमन्त्रीको स्पेन भ्रमणलाई लिएर प्रतिनिधिसभामा सांसदहरूबीच आरोपप्रत्यारोप भएको छ। भ्रमणमा गएकामध्ये कोही उतै बसेको भन्ने विषयमा गृहमन्त्री रमेश लेखक, एमाले सचेतक सुनिता बराल र रास्वपाकी सांसद सोविता गौतमबीच आरोपप्रत्यारोप भएको हो।

गृह मन्त्रालयको तर्फबाट जवाफ दिँदै गृहमन्त्री लेखकले प्रधानमन्त्रीसँग विदेश भ्रमणमा जानेहरूको नाम मन्त्रिपरिषद्बाट निर्णय भएर स्वीकृत हुने र सबै प्रतिनिधि फर्किसकेको दाबी गरे। उनले कोही नफर्किएको हो भने सडक होइन, संसदमै नामसहित देखाउन चुनौती दिए।

उनले भने, ‘प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएका मानिसहरू उतै बसेको भन्ने कुरा उठेको छ। हामीले न्यूनतम ज्ञान र जानकारी राख्नुपर्छ। सदनमा जिम्मेवार भएर मर्यादित ढंगले विषय राख्दा राम्रो हुन्छ। असत्यको पुलिँदा बाँधेर कहीँ पुगिन्न। प्रतिनिधिमण्डल सरकारबाट निर्णय भएर गएको हो, त्यो सबैलाई थाहा छ। को फर्केनन् भने भनिदिनुहोला।’

यसअघि, प्रधानमन्त्रीको स्पेन भ्रमणका क्रममा ‘केही नेपाली उतै बसेको’ विषयलाई रास्वपाकी सांसद सोविता गौतमले संसदमा उठाएकी थिइन्। त्यसै विषयमा आजको बैठकमा गौतमले स्पष्टिकरण दिँदै भनिन्, ‘मैले प्रधानमन्त्रीसँग गएकामध्ये कोही फर्किएनन् भनेको होइन। मैले भनेको कार्यक्रमको नाममा गएकामध्ये केही नेपाली फर्किएका छैनन्, त्यो सत्य हो।’

गौतमले संसद्मा बोलेको विषयलाई गलत व्याख्या गरिएको भन्दै एमाले सांसदहरूलाई ‘कान खोल्न’ आग्रह गरिन्। भनिन्, ‘नेपाली भाषा बुझाइमा समस्या भएकै कारण मेरो भनाइ रेकर्डबाट हटाउनुपर्ने त होइन होला नि? जसको समस्या हो, उसैको उपचार गरियोस्। मैले बोलेको विषयको म पूर्ण जिम्मेवारी लिन्छु।’

उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सत्तारूढ नेकपा एमालेकी सचेतक सुनिता बरालले संसद्लाई अफवाह फैलाउने थलो नबनाउन चेतावनी दिइन्।

उनले भनिन्, ‘तथ्यको आधारमा कुरा गरौँ। प्रधानमन्त्री कुनै एक दलको मात्र होइन, राष्ट्रको कार्यकारी प्रमुखको रूपमा विदेश भ्रमणमा जानुभएको हो। भाषाको ज्ञान र परिभाषा आवश्यक परेमा हामी सिकाउन तयार छौँ। तर हेक्का पुर्‍याएर बोल्नुस्।’

प्रकाशित: २५ असार २०८२ १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast