
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको विवादपछि एलन मस्कले नयाँ राजनीतिक पार्टी गठन गर्ने घोषणा गरेका छन्। अर्बपति उद्यमी मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत ‘अमेरिका पार्टी’ स्थापना गरेको उल्लेख गरेका छन्। उनले नयाँ पार्टीलाई रिपब्लिकन र डेमोक्र्याटिक दुई दलीय प्रणालीविरुद्धको चुनौतीका रूपमा प्रस्तुत गरेका छन्।
अमेरिकाको निर्वाचन आयोगमा उक्त पार्टी औपचारिक रूपमा दर्ता गरिएको छ वा छैन भन्ने स्पष्ट छैन। साथै उनले पार्टीको नेतृत्व कसले गर्नेछ भन्ने पनि खुलाएका छैनन्। अमेरिकाबाहिर जन्मिएका मस्क आफैँ राष्ट्रपति बन्न अयोग्य छन्।
मस्कले ट्रम्पसँग विवाद भएपछि नयाँ पार्टी गठनको सम्भावना सार्वजनिक गरेका थिए। विवादपछि उनले ट्रम्प प्रशासनबाट पदत्याग गरेका थिए। त्यसबेलाको विवादकै बेला मस्कले एक्समा एउटा सर्वेक्षण गर्दै प्रयोगकर्ताहरूलाई सोधेका थिए- के अमेरिकामा नयाँ राजनीतिक पार्टी आवश्यक छ?
शनिबार सोही सर्वेक्षणको सन्दर्भ दिँदै मस्कले लेखेका छन्- ‘दुईगुणाले बढी मतदाताहरूले नयाँ पार्टी चाहनुभएको छ र अब त्यो तपाईंहरूको हुनेछ। यिनै दल रहेमा राष्ट्रलाई फजुल खर्च र भ्रष्टाचारले कमजोर पारिन्छ, हामी लोकतन्त्रमा होइन, एकदलीय प्रणालीमा बाँचिरहेका हुन्छौँ।’ उनले ‘अमेरिका पार्टी’ नागरिक स्वतन्त्रता फर्काउनका लागि गठन गरिएको दाबी गरेका छन्।
अमेरिकी राजनीतिमा परम्परागत दुई प्रमुख पार्टीबाहेक अन्य पनि चर्चामा आएका छन्। ती पार्टीहरूले राष्ट्रव्यापी लोकप्रियता हासिल गर्न सक्ने सम्भावना भने दुर्लभ रहँदै आएको छ। पछिल्लो राष्ट्रपति चुनावमा लिबर्टेरियन पार्टी, ग्रिन पार्टी र पिपुल्स पार्टीका उम्मेदवारहरूले ट्रम्प वा डेमोक्रेटिक प्रतिस्पर्धी कमला ह्यारिसलाई रोक्ने प्रयास गरे पनि असफल भए।
केही समयअघिसम्म मस्क ट्रम्पका कट्टर समर्थक थिए। उनी गत वर्षको चुनावी र्यालीहरूमा ट्रम्पसँगै नाचेका थिए। साथै उनले आफ्ना चार वर्षीय छोरालाई ट्रम्पसँग ओभल अफिसमा भेट गराएका थिए।
मस्क ट्रम्पका प्रमुख वित्तीय सहयोगीसमेत थिए। उनले ट्रम्पलाई पुनः सत्तामा ल्याउन २५ करोड डलर खर्च गरेका थिए। चुनावपछि मस्कलाई सरकारी कार्यक्षमता विभाग (डीओजीई) प्रमुख बनाइएको थियो, जसको काम संघीय बजेटमा कटौतीको मार्ग पहिचान गर्नु थियो।
मस्क स्पेसएक्सका मालिक हुन्, जसले अमेरिकी सरकारले प्रयोग गर्ने रकेट प्रक्षेपण गर्छ। साथै उनी स्टारलिंक स्याटेलाइट सेवाका सञ्चालक पनि हुन्। यसले अमेरिका र युरोपका रक्षा फौजहरूलाई इन्टरनेट सुविधा दिन प्रयोग गरिन्छ।