छात्राहरूलाई साइकल उपहार : छोरी शिक्षाका लागि बलियो आधार

हिमाल प्रेस २० असार २०८२ १६:५२
2
SHARE
छात्राहरूलाई साइकल उपहार : छोरी शिक्षाका लागि बलियो आधार

काठमाडौँ- धनुषाको गणेशमान चारनाथ नगरपालिका वीरेन्द्र बजारस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयकी छात्राहरू निःशुल्कमा साइकल पाउँदा खुसी थिए। साइकल पाउँदा विद्यालय आउजाउ गर्न सहज हुने भएपछि उनीहरू खुसी देखिन्थे।

साइकल पाएपछि उनीहरूको एउटै भनाई थियो, ‘अब हामी पनि समयमै विद्यालय पुग्छौँ।’

विद्यालय शिक्षामा पहुँच र निरन्तरतालाई सुनिश्चित गर्ने उद्देश्यका साथ त्यहाँ अध्ययनरत ५० छात्राहरूलाई साइकल उपहार दिइएको छ।

उपहारमा साइकल पाएपछि घन्टौँ हिँडेर विद्यालय आउनुपर्ने बाध्यता अन्त्य भएको उनीहरूको भनाइ छ। साइकलले विद्यालय आउजाउ गर्ने भएपछि थकाइबाट जोगिनुका साथै अध्ययनका लागि थप समय बचत हुने छात्राहरूको प्रतिक्रिया थियो।

साइकल वितरण कार्यक्रमममा छात्राहरूका साथै उपस्थित भएका अभिभावकहरू पनि खुसी थिए।

‘सेन्ड ए गर्ल टु हाइ स्कुल विथ ए बाइसिकल’ नामक अभियानअन्तर्गत जानकी महिला जागरण समाजले त्यहाँ अध्ययनरत छात्राहरूलाई साइकल वितरण गरेको हो। यो अभियानअन्तर्गत धनुषाका १३ र रौतहटको एक गरी १४ वटा सार्वजनिक विद्यालयका ६५१ छात्राहरूलाई साइकल वितरण गरिएको ज्वासले जनाएको छ।

राष्ट्रिय माध्यमिक विद्यालयकी छात्राहरूको साइकल वितरण कार्यक्रममा नगरपालिकाका प्रमुख जितनारायण यादव, विद्यालयका प्रधानाध्यापक हिरालाल साह, शिक्षक, अभिभावक, जानकी महिला जागरण समाजकी अध्यक्ष मन्दाकिनी कर्ण, कार्यक्रम निर्देशक राजन नेपाल, कार्यक्रम व्यवस्थापक विष्णु भण्डारीलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

जानकी महिला जागरण समाजको २४ औँ स्थापना दिवसको अवसरमा २०७३ वैशाखदेखि सुरू भएको साइकल वितरण कार्यक्रम निरन्तर चल्दै आएको छ। सामुदायिक विद्यालयका कक्षा ६ देखि ११ सम्म अध्ययनरत छात्राहरूलाई लक्षित गरेर सञ्चालन गरिएको यो कार्यक्रमले शिक्षामा छात्राहरूको पहुँच, महिला सशक्तिकरण र सामाजिक न्याय तथा समानता प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ।

अभियानकै निरन्तरता स्वरूप पछिल्लोपटक वीरेन्द्रनगरको श्री राष्ट्रिय माध्यमिक विद्यालयका ५० जना छात्राहरूलाई साइकल वितरण कार्यक्रममा ‘भीएफएस’ जर्मनीले सहयोग गरेको हो।

जानकी महिला जागरण समाजकी अध्यक्ष कर्ण बालिका शिक्षाको दूर्गम बाटोमा साइकल एउटा साथी बनेको बताउँछिन्। साइकल वितरणपछि लामो दूरी तय गरेर पठनपाठनका लागि विद्यालय पुग्ने छात्राहरूलाई सहज हुने आफूहरूले विश्वास लिएको उनले उल्लेख गरिन्।

त्यस्तै जानकी महिला जागरण समाजका कार्यक्रम व्यवस्थापक भण्डारीले छात्राहरूलाई न्यूनतम माध्यमिक शिक्षा आर्जन गराउने उद्देश्यले साइकल वितरण कार्यक्रमलाई निरन्तरता दिएको बताए। यो अभियानले किशोरीहरूको क्षमता र सशक्तिकरणमा थप टेवा पुर्‍याउने उनको भनाइ छ।

प्रकाशित: २० असार २०८२ १६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast