
काठमाडौँ– जिल्ला प्रशासन कार्यालय बाराले आगजनीको घटनालाई आगामी दिनमा नदो¥याउनको लागि आवश्यक सुरक्षा सतर्कता अपनाउन जगदम्बा स्टिल्स कारखानाका प्रतिनिधिलाई निर्देशन दिएको छ।
गएराति कारखानाको कच्चा पदार्थ पगाल्ने ३० टनको भट्टीमा आगलागी भएपछि जिल्ला प्रशासन कार्यालयले उद्योगलाई यस्तो निर्देशन दिएको हो।
बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जगदम्बा स्टिल्स वरपर मानव वस्ती र सोही उद्योगमा कार्यरत मजदूरको सुरक्षाका लागि पनि आवश्यक सुरक्षा मापदण्ड कडाईपूर्वक पालना गर्नका उद्योगलाई निर्देशन दिएको जानकारी दिए।
‘आगलागी भएको थाहा पाउने बित्तिकै स्थलगत अनुगमन गरेका थियौँ,’ उनले भने, ‘उद्योग वरपर मानव वस्ती र उद्योगमा कार्यरत मजदुरको पनि सुरक्षाको विषयमा गम्भिर चासो राखेका छौँ। अगामीका दिनमा पनि यस्ता खालका दुर्घटना नहोस् भन्नका लागि सुरक्षा मापदण्ड पालना गर्नका लागि अनुरोध गर्दछु।’
अधिकारीले दुर्घटना भएको उद्योगले मात्रै नभएर अन्य उद्योग कलकारखानाले पनि सुरक्षाका मापदण्ड कडाइपूर्वक पालना गर्नुपर्ने बताए।
जगदम्बा स्टिल्स लिमिटेडले बिहीबार प्रेस विज्ञप्ती जारी गरेर बुधबार राति ९ः१५ बजेका समयमा जीतपुर–सिमरा उपमहानगरपालिका–२ स्थित उद्योगको हाताभित्र रहेको सिसिएम प्लान्टमा कच्चा पदार्थलाई पगाल्ने क्रममा ३० टनको भट्टी चलिरहेको अवस्थामा अकस्मात आगजनी भएर पड्किन गएको जनाएको छ।
कम्पनीका अनुसार यो घटनामा परेर भारत विहार राज्य समस्तिपुर स्थायी घर भई कारखानामा कार्यरत अजय बैठा घाइते भएको थिए।
घाइते बैठाको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ। कम्पनीले एक जना घाइते हुनुबाहेक अन्य कुनै पनि मानवीय क्षति नभएको दाबी गरेको छ।
‘उद्योगमा भने ठूलो मात्रामा भौतिक क्षति भएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘यो घटना के कसरी हुन गयो भन्ने बारेमा सम्बन्धित पक्ष र यस प्रतिष्ठानबाट अनुसन्धान भइरहेको अवगत गराउन चाहान्छौँ।’
प्रजिअ अधिकारीले घटनाको विषयमा इलाका प्रहरी कार्यालय सिमराले आवश्यक अनुसन्धानसमेत गरिरहेको जानकारी दिए।