रूपन्देहीको डिंगरनगर सहकारीमा करोडौँ हिनामिना, बचतकर्ताको बिचल्ली

विनोद परियार १९ असार २०८२ ११:१९
10
SHARES
रूपन्देहीको डिंगरनगर सहकारीमा करोडौँ हिनामिना, बचतकर्ताको बिचल्ली

बुटवल- रूपन्देहीमा फेरि अर्को सहकारीमा करोडौँ बचतकर्ताको रकम हिनामिना भएको छ। तिलोत्तमा नगरपालिका-३ जानकीनगरस्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक तथा व्यवस्थापक आर्थिक अनियमितता गरी फरार भएपछि बचतकर्ताको बिचल्ली भएको छ।

सहकारीका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा, उपाध्यक्ष बलराम न्यौपाने, कोषाध्यक्ष सुरेन्द्र बज्राचार्य र व्यवस्थापक वसन्त पराजुलीले सहकारीको करिब ३० करोड रकम हिनामिना गरेको प्रारम्भिक अनुमान गरिएको छ।

सहकारीका सञ्चालक तथा व्यवस्थापक फरार भएपछि सहकारीको कार्यालयमा रहेका खातापाता, अभिलेख, कागजातलगायतका सामग्रीको सुरक्षार्थ वडा कार्यालयले प्रहरीको रोहबरमा तालाबन्दी गरिएको छ।

सहकारी समस्याग्रस्त रहेको आशंकामा आन्तरिक लेखापरीक्षण गर्दा करिब ३० करोड हिनामिना भएको पाइएको छ। मंगलबार राति १२ बजे वडाको रोहबरमा कार्यालयमा तालाबन्दी गरिएको हो।

त्यसो त मंगलबार सहकारीको बैठक बसेको थियो। बैठकमा अध्यक्ष, सचिव र व्यवस्थापकले माइन्युट च्यातेर हिँडेपछि घटना बाहिर सार्वजनिक भएको हो।

सहकारीबाट पाँच लाख रुपैयाँ ऋण लगेका व्यक्तिको ८५ लाखको कागजमा ल्याप्चे लगाइएको छ भने १२-१३ लाख बराबरको धितोमा ९५ लाख रुपैयाँ ऋण प्रवाह गरेको देखिएको छ।

त्यस्तै सेयर सदस्य नभएका व्यक्तिको जग्गा धितो राखेर लाखौँ रकम कर्जा प्रवाह गरेको समेत भेटिएको छ। उक्त सहकारीको कुल पुँजी ३८ करोड रुपैयाँ छ। तिलोत्तमा नगरपालिका–३ का वडाध्यक्ष कल्याण पौडेलले सहकारीबाट बचतकर्ताहरूको करोडौँ रकम अपचलन भएको देखिएकाले तत्काल प्रहरीको रोहवरमा कार्यालयमा तालाबन्दी गरिएको बताए।

सहकारीमा करिब १९ सय हाराहारीमा सेयर सदस्य रहेका छन्। त्यसमध्ये ११ सय ऋणी र नौ सय बचतकर्ता छन्। अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर तिवारी र व्यवस्थापक वसन्त पराजुली सम्पर्क विहीन छन्।

रूपन्देहीमा विभिन्न सहकारी समस्याग्रस्त हुँदै जाँदा पछिल्लो पटक डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको घटना बाहिर आएको हो। रूपन्देहीमा बचतकर्ताको रकम हिनामिना गर्ने यो १२ औँ सहकारी बनेको छ। सहकारीका सञ्चालक व्यवस्थापक फरार भएपछि स्थानीय सेयर सदस्यहरूले आफूहरूको मेहनतको कमाइ डुबेको भन्दै चिन्तित भएका छन्।

२०५० सालमा स्थापना भएको सहकारीले दूध संकलन र बिक्रीको कारोबार गर्दै आएको थियो। सहकारीको तानसेनसम्म दूध संकलन तथा बिक्री केन्द्र सञ्चालन छ।

यस क्षेत्रका सामाजिक अगुवाहरुले नेतृत्व गरेको सहकारीमा यसरी अनियमितता भएपछि सेयर सदस्यहरु चिन्तामा परेका छन्। वृद्धभत्ता बुझेर जम्मा गरेको रकमसमेत हिनामिना भएको भन्दै पीडित रामप्रसाद गौतमले सहकारीले ठगेको बताए। उनले आफूहरूले दुःखले जम्मा गरेको पैसा डुबाउनेहरुलाई कारबाही गरी पैसाको सुरक्षा गर्न माग गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast