तेलंगना विस्फोट : मृतकको संख्या ३६ पुग्यो, परिवारलाई एक करोड रुपैयाँ राहत

हिमाल प्रेस १८ असार २०८२ ६:१२
54
SHARES
तेलंगना विस्फोट : मृतकको संख्या ३६ पुग्यो, परिवारलाई एक करोड रुपैयाँ राहत भारतको तेलंगना राज्यको संगारेड्डी जिल्लास्थित पासामइलरम औद्योगिक क्षेत्रमा भएको विस्फोटपछि उद्धारका लागि खटिएका सुरक्षाकर्मी। तस्बिर साभार : बीबीसी

काठमाडौँ- भारतको तेलंगना राज्यको संगारेड्डी जिल्लास्थित पासामइलरम औद्योगिक क्षेत्रमा सोमबार बिहान एक फर्मा कम्पनीको रिएक्टर विस्फोट हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ।

हराएका मानिसहरूको खोजी जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। विस्फोटको समयमा त्यहाँ १४३ जना कामदार थिए, जसमध्ये ५८ जनालाई उद्धार गरिएको छ भने बाँकी हराइरहेका छन्। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

मुख्यमन्त्री रेवन्त रेड्डीले मृतक परिवारका लागि राहत घोषणा गरेका छन्। उनका अनुसार दुर्घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिका परिवारलाई एक–एक करोड रुपैयाँ राहतस्वरूप दिइनेछ।

मुख्यमन्त्री रेड्डीले सञ्चारमाध्यमसँग भने, ‘यो दुर्घटनाका जिम्मेवारहरूमाथि कडा कारबाही गरिनेछ। हामी पूरै घटनाको गम्भीर अनुसन्धान गर्नेछौँ र जहाँ गल्ती भयो, त्यसलाई सुधार गर्न नयाँ नियम बनाइनेछ।’

स्थानीय प्रहरीले बीबीसीलाई बताएअनुसार दुर्घटना सोमबार बिहान ९ बजेदेखि साढे ९ बजेको बीचमा भएको थियो। विस्फोटको कारण अझै स्पष्ट छैन।

दमकल विभागका अधिकारीहरूका अनुसार यो विस्फोट सम्भवतः रसायनबाट चिस्यान हटाउने क्रममा वायुप्रवाह (एयर प्रेसर) मा परिवर्तन आएर भएको हुनसक्छ।

विस्फोटमा केमिकल प्युरिफिकेसन प्लान्टको पूरै भवन ध्वस्त भएको छ। वरपरका भवनहरू पनि क्षतिग्रस्त भएका छन्। रसायन बोक्ने पाइपहरू फुटेका छन्।

राहत तथा उद्धारमा बुलडोजर, दमकल, एम्बुलेन्स, मेडिकल, प्रहरी, एसडीआरएफ, एनडीआरएफलगायत टोली परिचालन गरिएको छ।

स्वास्थ्यमन्त्री दामोदर राजा नरसिम्हाले घाइतेहरूलाई अस्पतालमै भेटेका छन्। सरकारले उनीहरूको उपचारको व्यवस्था गर्ने घोषणा गरेका छन्। शवहरूलाई गृह जिल्ला पुर्‍याउने तयारी भइरहेको उनले जनाएका छन्। पोस्टमार्टम र डीएनए परीक्षणको व्यवस्था अस्पतालमै गरिएको छ।

प्रकाशित: १८ असार २०८२ ६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast