प्रादेशिक अस्पताल सिरहामा आकस्मिकबाहेकका सेवा ठप्प

हिमाल प्रेस १६ असार २०८२ २१:२३ | Monday, June 30, 2025
प्रादेशिक अस्पताल सिरहामा आकस्मिकबाहेकका सेवा ठप्प

सिराहा– प्रादेशिक अस्पताल सिरहामा आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा ठप्प भएको छ।

सिरहा नगरपालिका–६ का १२ वर्षीय राजन महराको उपचारका क्रममा आइतबार भएको मृत्यु घटनालाई लिएर उत्पन्न विवादपछि चिकित्सकले शान्ति सुरक्षाको माग गर्दै बहिरङ्ग सेवा (ओपीडी) बन्द गरेका हुन्।

उपचारका क्रममा बालकको निधन भएपछि पीडित परिवारका सदस्य, आफन्तजन र स्थानीय जनप्रतिनिधिलगायतले अस्पताल परिसरमै हुलहुज्जत, अभद्र व्यवहार तथा गालीगलौज गरेकाले सेवा दिन नसकिएको चिकित्सकले जनाएका छन्।

सोमबार चिकित्सकहरूद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अस्पताल जस्तो संवेदनशील स्थानमा दुव्र्यवहार र आक्रमण सहन योग्य छैन। हामी शान्ति सुरक्षा सुनिश्चित गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौँ।’

मृतक परिवारका सदस्य, आफन्तजन र स्थानीय जनप्रतिनिधिले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै आइतबार अस्पताल अगाडि नाराबाजी गरेका थिए। भीड नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो।

आइतबार नै सिरहा नगरपालिका—६ का वडाध्यक्ष इन्द्रजित यादवसहितलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूको रिहाइको माग गर्दै पीडित परिवारले बालकको शव बुझेको छैन।

ओपीडी सेवा ठप्प भएपछि जिल्लाका विभिन्न ठाउँबाट आएका बिरामी उपचारबिनै फर्किन बाध्य भएका छन्। चिकित्सक बस्ने कार्यकक्ष पनि बन्द गरिएको छ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले भने घटनाबारे यथार्थ बुझ्ने काम भइरहेको बताए।

प्रकाशित: १६ असार २०८२ २१:२३ | Monday, June 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast