
काठमाडौँ- असारको झरी, हिलाम्मे सहरको बाटो र माटोलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकाले रोपाइँ जात्राको झलक दिए। कोही पञ्चेबाजाको धुन बजाइरहेका थिए भने कोही त्यही धुनमा कम्मर मर्काएर धानको बेर्ना हातमा लिएर नृत्यमा मग्न थिए। कोही भने बाउसे र रोपारका रुपमा रोपाइ नै गरिरहेका थिए।
उक्त समुदायले असार १५ धान दिवसको मौलिक तथा परम्परागत संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले बौद्धस्थित शुभ होटेलको प्रांगणमा ‘रोपाइँ जात्रा-२०८२ विविधता संस्करण’ आयोजना गरे। कार्यक्रम ‘कृषि, पानी र पहिचानको उत्सव : हाम्रो शैलीमा, हाम्रो संस्कृतिमा’ भन्ने मूल नाराका साथ आयोजना गरिएको थियो।
कार्यक्रममा उक्त समुदायका व्यक्तिहरुसँगै राजनीति तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। रोपाइँ जात्राको यो दोस्रो संस्करण हो। अघिल्लो वर्ष पनि राजधानीमै रोपाइँ जात्रा कार्यक्रम गरेको थियो।
मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले हाम्रो मौलिक संस्कृति र पर्वलाई आफ्नै शैली र परिवेश अनुसार मनाउने र त्यसलाई जगेर्ना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए।
उनकाअनुसार अहिले विश्वभर अमेरिका र युरोपमा गरिने जस्तै अभियान नेपालमा पनि चलेको छ। उनले भने, ‘यौनिक तथा लंगिक अल्पसङ्ख्यक समुदाय पनि हाम्रो कृषि, उत्पानदसँग जोडिएको छ। हाम्रो पनि कृषिमा योगदान र हामी पनि यसमा जोडिनुपर्छ। हामी नाचगान, मनोरञ्जन मात्र होइन, किसानहरुको मागलाई पनि ऐक्यबद्धता जनाउन चाहान्छौँ।’
मायाको पहिचान नेपाल लगायत संस्थाले समुदायले मनाउने चाडपर्वहरुको वार्षिक क्यालेन्डर नै निकालिएको उनले बताए। उनका अनुसार उक्त क्यालेन्डरमा समुदायले अभियानकै रुपमा खुलेर मनाउन मिल्ने डेढ दर्जनभन्दा बढी चाडपर्वहरु उल्लेख गरिएका छन्। ‘हाम्रो रैथान संस्कृति, चाडपर्वहरु छन्। क्यालेन्डरभित्र पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समेट्ने चाडपर्वहरु गाइजात्रा, रोपाइँ जात्रा, मारुनी नाच, तराई क्षेत्रका नटुवा, सिंगारु, रत्यौली नाचहरु पहिलादेखि नै समावेश गर्दै आएको छ।’ उनले भने।
मायाको पहिचान नेपालकी अध्यक्ष माया गुरुङले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले मौलिक संस्कार र पर्वलाई जगेर्ना गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न अभियानकै रुपमा कार्यक्रम गरिएको बताइन्।
कार्यक्रम मायाको पहिचान नेपाल, लिड नेपाल, डाकिनी हस्पिटालिटी र इनक्ल्युसिभ फोरम नेपालले संयुक्त रुपमा आयोजना गरेको हाे।