ईसीडीविरुद्ध बोलेका हजारालाई विद्या भट्टराईले समिति बैठकमै झपारिन्

हिमाल प्रेस १६ असार २०८२ ११:०१
2.8k
SHARES
ईसीडीविरुद्ध बोलेका हजारालाई विद्या भट्टराईले समिति बैठकमै झपारिन्

काठमाडौँ- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक–२०८० माथिको छलफल अन्तिम चरणमा छ। आइतबार (१५ असार) को समिति बैठकमा बाल विकास सहजकर्ता, बाल विकास शिक्षा, बाल विकास केन्द्रको विषयले बढी चर्चा पायो।

समिति सभापति अम्मरबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, सचिव, सहसचिव, पत्रकारहरू रहेको आइतबारको बैठकमा प्रायजसो सबै समिति सदस्यहरूले बाल विकास केन्द्रलाई विद्यालय संरचनामा लैजानुपर्छ, दुईबर्से बनाउनुपर्छ र बाल विकास सहजकर्तालाई ‘सहजकर्ता’ होइन शिक्षककै रूपमा कानुनमा परिभाषित गर्नुपर्छ भनिरहेका बेला नेकपा एमालेका सांसद प्रभु हजाराले विमति जनाए।

बैठकमा उनले भने,‘बोर्डिङमा बाल विकास शिक्षक भन्ने चलन छैन। सहयोगी नै भन्छन्। सिस्टर नै भन्छन्। त्यस कारण बाल शिक्षामा हामीले शिक्षक भन्नुभन्दा पनि सहयोगी भन्नु नै उपयुक्त हुन्छ। शिक्षक भन्ने कल्पना नै नगरौं। विगतदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय हुँदै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा व्ययभारको कुरा उठेको छ। तीन तीन जना पूर्वमन्त्रीहरू पनि यो बैठकमा हुनुहुन्छ। ३३ अर्बको कुरा छ। एक वर्ष ईसीडी राखेर त्यसपछि क्रमशः राख्दा बेग्लै पाटो हो। १ कक्षादेखि माथि पढाउनेलाई मात्रै शिक्षक भनौं। बाल विकास सहजकर्तालाई शिक्षक भन्नु उपयुक्त हुँदैन।’

सांसद हजाराले त्यसो भनिरहँदा समिति सदस्यहरूले उनको मुखमा हेरेका थिए। पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उनलाई झपार्दै भनिन्, ‘मान्यज्यू, निजीमा तपाईँले भनेजस्तो छैन। के भन्नुभएको? अलिक बुझेर बोल्नुहोस् न! बाल विकास सहजकर्तालाई शिक्षक नै भन्नुपर्छ।’

हजाराले जिद्दी गर्दै भने, ‘छ, छ! सिस्टर नै भनेर बोलाउँछन्।’ विद्या भट्टराई रिसाउँदै चुप बोलिनन्। त्यसपछि समिति बैठकमा अर्को विषयमा छलफल सुरु भयो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast