७० रोपनी क्षेत्रफलमा अंगुर खेती

हिमाल प्रेस १५ असार २०८२ ७:१६
10
SHARES
७० रोपनी क्षेत्रफलमा अंगुर खेती

तनहुँ- जिल्लामा पहिलो पटक ७० रोपनी क्षेत्रफलमा गरिएको व्यावसायिक अंगुर खेती अवलोकन गर्न आन्तरिक पर्यटकको आकर्षण बढेको छ। घिरिङ गाउँपालिका–४ बाह्रबीसेमा व्यावसायिक रूपमा थालिएको अंगुर खेती हेर्न जिल्लाका विभिन्न क्षेत्रबाट आन्तरिक पर्यटक पुग्न थालेका हुन् ।

काठमाडौँ चन्द्रागिरिका कुमार कार्कीले पाँच वर्षअघि यहाँ जग्गा खरिद गरी व्यावसायिक रूपमा अंगुर खेती गरिरहेका छन्। विसं २०७७ मा घिरिङ भिनेयार्ड एग्रो रिसर्च सेन्टर दर्ता गरी खेती सुरु गरेका अहिले फार्ममा लटरम्म अंगुर फलेका छन् ।

करिब ७० रोपनी क्षेत्रफलमा डिभिको, चार्डोनी, अर्काडिया, सोन्जालगायत २१ प्रजातिका अंगुर लगाएको कार्कीले जानकारी दिए। उनका अनुसार जिल्लाको पहिलो अंगुर खेती हेर्न दैनिक ५० जनासम्म आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन्।

व्यास नगरपालिका–५ का मोहनकुमार श्रेष्ठले लटरम्म फलेका अंगुरले यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने बताए। अंगुर फार्ममा पुगेका छिमेकी ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले अंगुर खेती प्रशंसालायक रहेको उल्लेख गरे। सञ्चालक कार्कीका अनुसार फार्ममा चार जनाले स्थायी र २० जनाले ज्यालादारीका रूपमा रोजगारी पाएका छन्।

स्वीट्जरल्याण्डबाट प्रतिबिरुवा ७०० देखि एक हजारसम्ममा खरिद गरी यहाँ ल्याएर रोपिएको उनले जानकारी दिए। अंगुर खेतीका लागि हालसम्म एक करोड ५० लाखभन्दा बढी लगानी भइसकेको उनले बताए।

कार्कीका अनुसार यहाँ उत्पादित अंगुर वाइन बनाउनका लागि धादिङ पठाउने गरिएको छ । सात सय ५० मिलिलिटरका बोतलमा विभिन्न तीन प्रकारका वाइन उत्पादन भइरहेको उनले जानकारी दिए।

वाइन बनाउने कम्पनीले धादिङको थाँक्रे गाउँपालिका–१० जुङेखोला केवलपुरमा विगत १५ वर्षदेखि ३०० रोपनी क्षेत्रफलमा ३० हजार बिरुवा लगाएर व्यावसायिक अंगुर खेती गरी वाइन उत्पादन गर्दै आएको कार्कीले बताए।

धादिङमा ३८ करोड ५० लाख रुपैयाँको लागतमा अंगुर खेती र वाइन उत्पादन भइरहेको भन्दै त्यहाँ उत्पादित वाइन प्रतिबोतल एक हजार २०० रुपैयाँमा बिक्री भइरहेको उनले उल्लेख गरे ।

कार्कीले भने, ‘कम्पनीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता छ।’ वर्षामा एकपटक अंगुर फल्ने भएकाले अन्य समयमा फार्ममा रेखदेख, गोडमेल, काँटछाँट, बिरुवा मरेका ठाउँमा नयाँ बिरुवा लगाउनेलगायत कार्य गरिएको उनको भनाइ छ।

फार्ममा हारियोमा सुजी, कायाबिनेट क्यान्टर, मनाज, सोबिनियन ग्रिस तथा खानका लागि फन्नी, सोफिया, आरकडिया, पोलिस्की, दुचबा, चालिचमानलगायत जातका अंगुर छन्। अंगुरको बोटमा चैत, वैशाखमा फूल फुल्छ भने त्यसपछि तीन महिनामा फल टिप्न तयार हुन्छ। यहाँको हावापानी उपयुक्त रहेकाले व्यावसायिक रूपमा अंगुर खेती भइरहेको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए।

प्रकाशित: १५ असार २०८२ ७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast