व्यवस्थामा होइन, नेतृत्वमा दोष छ : डा.कोइराला

हिमाल प्रेस १३ असार २०८२ ९:३१
12
SHARES
व्यवस्थामा होइन, नेतृत्वमा दोष छ : डा.कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य डा.शशांक कोइरालाले मुलुकको वर्तमान शासन प्रणाली खराब नभई कार्यान्वयन तहमा रहेका व्यक्तिहरूको कमजोरीका कारण समस्या देखिएको बताएका छन्।

नवलपरासी (पूर्व) निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने डा.कोइरालाले रासससँग कुराकानी गर्दै कुनै पनि व्यवस्था स्वयंमा खराब नहुने बताए। उनले भने, ‘व्यवस्थामाथि शासन गर्ने व्यक्तिको नियत र आचरणले व्यवस्था असफल हुन्छ। नेपालका लागि संघीय लोकतान्त्रिक गणतन्त्रभन्दा उत्तम व्यवस्था अर्को हुन सक्दैन।’

उनका अनुसार समस्या व्यवस्थामा होइन त्यसलाई गलत ढंगले सञ्चालन गर्ने नेतृत्वमा छ। ‘हामीले व्यवस्थालाई होइन, व्यक्तिलाई प्रश्न गर्नुपर्छ,’ उनले भने।

डा.कोइरालाले २०४८ सालदेखि २०५१ सालसम्मको अवधिलाई पछिल्लो ४० वर्षको ‘गोल्डेन इरा’ भन्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा सञ्चार, सूचना प्रविधि, हवाई सेवा, सडक र चिकित्सा क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए।

‘त्यो बेला लिएका नीतिगत निर्णयका कारण आज प्रत्येक नागरिकको हातमा मोबाइल छ, हवाईजहाजको संख्यामा वृद्धि भएको छ र मेडिकल कलेजहरू फस्टाएका छन्,’ उनले स्मरण गरे।

भ्रष्टाचारको सन्दर्भमा कुरा गर्दै डा.कोइरालाले पूर्णरूपमा निर्मूल गर्न नसकिने भए पनि न्यूनीकरण गर्न सकिने बताए। उनले संसद्मा समेत भ्रष्टाचारको विषय उठाउँदै भनेको स्मरण गरे, ‘यदि अहिले सय रुपैयाँ घुस खानुहुन्छ भने अब एक रुपैयाँ मात्र खानुस् भन्ने हो।’

उनका अनुसार विश्वका विकसित मुलुकहरूमा पनि भ्रष्टाचार नभएको होइन, तर अत्यन्त न्यून स्तरमा सीमित छ। ‘नेपालमा जति भए पनि खाइदिने प्रवृत्ति रहेको छ,’ उनले भने, ‘भ्रष्टाचार न्यूनीकरणका लागि कानुनको प्रभावकारी कार्यान्वयन हुनुका साथै नेताहरू इमानदार र पारदर्शी हुन आवश्यक छ।’

प्रकाशित: १३ असार २०८२ ९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast