
काठमाडौँ- टेलिभिजनबाट अहिले गायन-नृत्यका कतिवटा ‘रियालिटी सो’ आइरहेका छन्? जो कोहीलाई हेक्का नै छैन। एकै किसिमका गायन-नृत्यका छुट्टाछुट्टै रियालिटी सो टेलिभिजनमा दिनानुदिन आइरहेका छन्।
लाग्छ, एकै किसिमका रियालिटी सो किन एकै पटक आइरहेका छन्? जसका दर्शक-स्रोता एउटै हुन्। ज-जसले नृत्य-गायनमा मनपराउँछन्, तिनलाई समेत अहिले हेर्न भ्याइनभ्याइछ। किन जुधिरहेका छन्, रियालिटी सो। हुन त, यसरी जुध्नेमा गायन-नृत्यका मात्र कार्यक्रम छैनन्।
कमेडी ‘जनरा’का कार्यक्रम पनि उस्तै छन्। एकै किसिमका कार्यक्रम जुध्दा घाटा ‘सियालिटी सो’लाई पर्ने निश्चित छ। किनकि, दर्शक (भ्युअर) विभाजित भइहाल्छन्। तर, पनि रियालिटी सो जुधिरहेका छन्।
पछिल्लो समय नेपालमा गायनदेखि अभिनय, नृत्य र साहित्यविधासम्म विभिन्न किसिमका कार्यक्रम आउने क्रम बढ्दो छ। गायनमा अहिले भ्वाइस अफ नेपाल, नेपाल आइडल, मेरो भ्वाइस युनिभर्स, हास्यव्यंग्यमा कमेडी च्याम्पियन्स, कमेडी दरबार र कमेडी नाइट विथ क्लव/च्याम्पियन्स चर्चामा छ। अन्यहरू पनि थुप्रै छन् त्यस्तै, नृत्य, र्याप, पोयट आइडल, एक्टिङ स्टारजस्ता नयाँ सोहरू पनि थपिरहेका छन्। सबै समूहलाई आधार बनाएर रियालिटी सो ल्याइएको छ।
यो एउटा विकासको सकारात्मक पाटो पनि हो। तर, अहिले साताको प्रत्येक दिन रियालिटी सो मय बनेको छ। प्रसारणको बार-समयसमेत जुधेको छ, यसले दर्शक कुन हेर्ने कुन नहेर्ने? भन्ने दर्शक अलमलमा छन्।
गायनकै ५ सो प्रसारणमा छ। राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्मका नेपाली समेटिएका गायन, नृत्य, कमेडी र एक्टिङ स्टारका विभिन्न सो चलिरहेको छ।
यस्तो हुनु संयोग रहेको अहिले ‘नेपाल आइडल-६’ र ‘SAREGAMAPA li’l Champs-2’ निर्देशन गरिरहेका एलिन श्रेष्ठ बताउँछन्। एउटा सो आउँदा प्रतिस्पर्धीलेमात्र नभएर पर्दा पछाडि धेरै मानिसले कामको अवसर पाउने भएकोले यसलाई उनी सकारात्मक रुपमा लिन्छन् पनि।
यस्तो हुनुमा सो को स्पोन्सर र मार्केटिङ क्षेत्र पनि जोडिने उनले बताए। ‘कसैको योजनाले भएको होइन। यो सबै समय र परिस्थितिले भएको हो। कार्यक्रमको स्पोन्सर कस्तो छ र कुन समयमा त्यसले बजारलाई प्रतिनिधित्व गर्छ भन्नेले पनि भूमिका खेल्छ।’ उनले भने, ‘पहिलेको योजनाअनुसार चलिरहेको हाम्रो सो समयमै प्रसारण हुन सकेन। प्रत्येक सो को आ-आफ्नै समयरेखा हुन्छ। त्यो समय कहिलेकाही अघिपछि भइदिन्छ। त्यसैले यसवर्ष रियालिटी सो एकै समय पर्न गएको हुनसक्छ। यो जुधेको होइन जुरेको हो।’
उनी सोहरूमा प्रतिस्पर्धा हुनुपर्छ भन्ने धारणा पनि राख्छन्। ‘रियालिटी सोहरू जति धेरै आयो उति राम्रो हो। यस्तो प्रतिस्पर्धा चाहिन्छ पनि। अरूले पनि रोजगारी पाउँछन्,’ उनले भने।
उनको भनाइअनुसार अहिले नेपालमा एक बाहिरको शैली अपनाउने र देशकै अर्गानिक गरी दुई किसिमको रियालिटी सोहरू आइरहेको छ। प्रत्येक कार्यक्रमको ढाँचा, दर्शक र त्यसको आकर्षण पनि आ-आफ्नै किसिमको हुने भएकोले समय जुध्नुले फरक नपर्ने उनको भनाइ छ।
एलिन श्रेष्ठको भनाइप्रति सहमति जनाउँदै निर्देशक विशाल भण्डारी पनि खुल्ला बजारमा सबैले आफ्नो इच्छाअनुसार काम गर्न पाउनुपर्छ भन्ने धारणा राख्छन्। अहिले ‘कमेडी नाइट विथ च्याम्पियन्स’ र ‘एक्टिङ स्टार नेपाल’ निर्देशन गरिरहेका भण्डारी भन्छन्, ‘काममा मिहेनत गरेर ल्याएका सबै रियालिटी सोहरू बजारमा टिक्ने भइहाल्छ। त्यसमा प्रतिस्पर्धा पनि राम्रो हुन्छ।’
फरक विधाका सो एकै समयमा आउनुले फरक नपर्ने भन्दै उनी उस्तै विधाबीच प्रतिस्पर्धा हुनु भनेको तुलनात्मक हिसाबले असर गर्नसक्ने बताउँछन्। यसले बजारमा सोहरूबीच अस्वस्थ प्रतिस्पर्धा भइरहेको हो कि भन्ने उनलाई लाग्छ।
‘नयाँ योजनामा काम नगर्ने अनि पुरानै शैलीमा धेरैतिरबाट सबैले एउटै काम गर्दा धेरै सो जुधिरहेको छ। एउटै जनरामा दुई सोसम्म आउनु सामान्य नै हो। यहाँ त बजार नै एउटैले कब्जा गरेजस्तो भइरहेको छ,’ उनले भने।
एउटा फिल्म चलेपछि उस्तै फिल्म रजिस्टर गर्नेको लर्को लाग्छ भनेझैं अहिलेका रियालिटी सोहरूमा पनि त्यस्तै प्रवृत्ति हाबी भइरहेजस्तो उनलाई लाग्छ। कतिपय रियालिटी सोहरू पनि घोषणा र डिजिटल अडिसनमै सीमित छन्। यसले निर्माता डुब्ने काममात्र भइरहेको भन्दै उनले व्यावसायिक रूपमा स्थापित कार्यक्रमलाई प्रत्यक्ष प्रभाव पर्ने बताए।
‘एउटा रियालिटी सो बनाउन तीन करोडजति लाग्छ। दर्शकको नजरमा पर्न सकेन भने सो फितलो हुन्छ। लगानी सबै डुब्छ। केही चलेका बाहेकका अन्य विभिन्न सोहरू घाटामै छ,’ उनले भने। नयाँ निर्माताहरूले बुझेर कार्यक्रममा लगानी गर्न उनले सुझाएका छन्।
अहिले प्रसारणमा के के छन् त?
गायनमा सारेगमप लिल चाम्प्स सिजन २, द भ्वाइस किड्स सिजन ४, नेपाल आइडल सिजन ६, मेरो भ्वाइस युनिभर्स सिजन २ र ब्याटल भूमि
गायनमा आधारित अहिले पाँच सो प्रतिस्पर्धामा छ। यही असार १ देखि ‘सारेगमप लिल चाम्प्स’ को दोस्रो सिजन चलिरहेको छ। कमेडियन सुमन कार्कीले सञ्चालन गरिरहेको सोका निर्णायकमा संगीतकारहरु दीप श्रेष्ठ, सुवानी मोक्तान र स्वप्न सुमन छन्। सो स्पेश फोके टिभी र डोको युट्युबबाट आइतबार र सोमबार प्रसारण भइरहेको छ। सो का निर्देशक एलिन श्रेष्ठ हुन्।
बालप्रतिभा लक्षित ‘द भ्वाइस किड्स’ को चौथो सिजन गत जेठ ३० देखि प्रसारण भइरहेको छ। शुक्रबार र शनिबार हिमालय टिभी र द भ्वाइस अफ नेपालको युट्युब च्यानलबाट प्रसारण भइरहेको छ। सुशील नेपाल र रोनिश्मा श्रेष्ठले सञ्चालन गरिरहेको सो का निर्णायकमा सत्यराज आचार्य, खेम सेञ्चुरी, मेलिना राई र मिलन नेवार छन्। सो का निर्देशक लक्ष्मण पौडेल हुन्।
त्यस्तै ‘नेपाल आइडल’ को छैटौं सिजन गत जेठ २ देखि प्रसारण भइरहेको छ। शुक्रबार र शनिबार एपिवान टिलिभिजन र नेपाल आइडलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भइरहेको छ। सोका निर्देशक रूपेश पौडेल र एलिन श्रेष्ठ हुन्। आशिफ शाहले सञ्चालन गरिरहेको सोका निर्णायकमा न्ह्यु बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा छन्।
अर्को गायन रियालिटी सो ‘मेरो भ्वाइस युनिभर्स’ गत वैशाख १८ देखि नेपाल टेलिभिजन र इन्ट्रा- नेसनल वेलफेर एण्ड सपोर्ट युट्युब च्यानलबाट प्रसारण भइरहेको छ। सो का निर्णायकमा दीप श्रेष्ठ, सुरेश अधिकारी, शिव परियार, अञ्जु पन्त, लावोनी चक्रवती र कर्मा घेल्छेन बम्जन छन्। होस्ट रिमा विश्वकर्मा र कमेडियन राजा राजेन्द्र पोखरेलले सञ्चालन गरिरहेका कार्यक्रमका निर्देशक विकाश अर्याल हुन्।
गायनमा आधारित अर्को र्याप सो ‘ब्याटल भूमि’ पनि प्रसारण भइरहेको छ। गत जेठ १० देखि शनिबार र आइतबार ओएसआर रियालिटी युट्युबबाट प्रसारण भइरहेको छ। सोका निर्णायकमा र्यापर विदेश कार्की (कभि जि) र मानस घले छन्। मनिष ढकाल (मेक)ले सञ्चालन गरिरहेका सोका निर्देशक विक्रम खनाल हुन्।
नृत्यमा मेरो डान्स युनिभर्स सिजन २
नृत्यमा आधारित अहिले मेरो डान्स युनिभर्सको दोस्रो सिजन चलिरहेको छ। गत वैशाख २१ देखि सुरू भएको सो आइतबार र सोमबार इन्ट्रा- नेसनल वेलफेर एण्ड सपोर्ट युट्युब च्यानलबाट प्रसारण भइरहेको छ। सोका निर्देशक मौसमी गुरुङ हुन्। नरेश भट्टराईले सञ्चालन गरिरहेको सो को निर्णायकमा मिथिला शर्मा, शिल्पा मास्के, कविराज गहराज, किरण थापा, शंखर बिसी र दिलीप रायमाझी छन्।
हास्यव्यंग्यमा ‘कमेडी दरबार २’ र ‘कमेडी नाइट्स विथ च्याम्पियन्स’
हास्यव्यंग्यमा आधारित रियालिटी सो ‘कमेडी दरबार’ गतवर्षदेखि निरन्तर प्रसारणमा छ। पहिलो सिजन हिट भएपछि टिमले निरन्तर दोस्रो सिजन चलाइरहेको छ। सोका निर्देशक कमेडियन विक्कि अग्रवाल र श्रद्धा प्रसाई हुन्।
दरबारीया शैलीमा सो को महाराजाको भूमिकामा कमेडियन मनोज गजुरेल र महारानीमा अभिनेत्री गौरी मल्ल छन्। सो कमेडियन विक्कि अग्रवाल र सजिना खनालले सञ्चालन गरिरहेका छन्। कार्यक्रम प्राइम टाइम टेलिभिजन र ओएसआर डिजिटलबाट साताको प्रत्येक शुक्रबार प्रसारण भइरहेको छ।
अर्को हास्यव्यंग्य कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’ गतवर्ष चैत १९ देखि प्रसारण भइरहेको छ। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको अध्यक्ष्यतामा चलिरहेको सो का निर्देशक विशाल भण्डारी हुन्। कमेडी च्याम्पियन्सको तेस्रो सिजन सकिएपछि तीनै कमेडियनलाई लिएर कमेडी ब्लब विथ च्याम्पियन्स कायक्रम चलाएका निर्देशक भण्डारी टिमको अहिले कमेडी नाइट विथ च्याम्पियन्स प्रसारणमा छ। कार्यक्रम पनि विशालले नै सञ्चालन गरिरहेका छन्। सो मंगलबार हिमालय टिभी र ओएसआर रियालिटी युट्युब च्यानलबाट प्रसारण भइरहेको छ।
अभिनयमा आधारित ‘एक्टिङ स्टार नेपाल’
यसैबीच नयाँ सो थपिएको छ, ‘एक्टिङ स्टार नेपाल’। अभिनयतिर रूची हुने दर्शकको लागि सो उपयोगी हुनेछ। गत जेठ १५ देखि सुरू भएको सो को निर्णायकमा अनुप बराल, ऋचा शर्मा र नीर शाह छन्। सो सृजल रूपाखेतीले सञ्चालन गरिरहेका छन्।
सोनु सिजली मगर निर्माता रहेका सो का निर्देशक विशाल भण्डारी हुन्। हालसम्म ७ एपिसोड प्रसारण भइसकेको छ। सो साताको दुई दिन बुधबार र बिहीबार ओएसआर रियालिटीबाट प्रसारण भइरहेको छ।