महासंघका माग नसमेटिए शिक्षा विधेयक ‘च्यात्ने’ चेतावनीपछि समितिमा सहमति जुटाउन दबाब

हिमाल प्रेस १२ असार २०८२ १०:५१
2.9k
SHARES
महासंघका माग नसमेटिए शिक्षा विधेयक ‘च्यात्ने’ चेतावनीपछि समितिमा सहमति जुटाउन दबाब प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक-२०८० असार १५ गतेसम्म पारित गर्ने तयारी गरेको छ। समितिबाट विधेयक पास गर्नका लागि असार १४ गते बिहान  उपसमिति र दिउँसो समितिको बैठक बोलाइएको छ। समितिका सभापति अम्मरबहादुर थापाले विधेयक पारित गर्ने अन्तिम प्रयास भइरहेकाले सकेसम्म भोलि, नभए पर्सीभित्रै पास गरिने जानकारी दिए।

बुधबार दिनभर उपसमितिको बैठक बसेर विधेयकका विवादित बुँदामा सहमति जुटाउने प्रयास गरिएको थियो। समितिका अनुसार केही विषयमा सहमति भइसकेको छ भने बाँकी बुँदामा आज थप छलफल हुनेछ। उपसमितिले सहमति कायम भएका विषय समितिमा लैजाने र दिउँसोको बैठकमा विधेयक टुंग्याउने तयारी गरेको छ।

शिक्षा समितिका एक सदस्यका अनुसार विधेयक संसद् लैजान चौतर्फी दबाब बढिरहेको छ। विशेषगरी नेपाल शिक्षक महासंघसँग भएको सहमति कार्यान्वयनको विषयमा समितिमाथि ठूलो दबाब रहेको छ। ती सदस्यले हिमालप्रेससँग भने, ‘विधेयक संसद् पुर्‍याउन हामीलाई चौतर्फी दबाब छ। शिक्षक महासंघको माग समेट्नै पर्ने बाध्यता छ। माग नसमेटिए विधेयक च्यात्ने र आन्दोलन थाल्ने चेतावनी महासंघबाट आएको छ।’

शिक्षक महासंघ र सरकारबीच गत वैशाख १७ गते असार १५ भित्र विधेयक संसद् पुर्‍याउने सहमति भएको थियो। उक्त सहमतिलाई कार्यान्वयन गराउन दबाबस्वरूप महासंघले चैत २० देखि २९ गतेसम्म शैक्षिक हड्ताल गर्दै आन्दोलन पनि गरेको थियो।

प्रतिनिधिसभाबाट छलफलसहित पारित भएपछि विधेयक राष्ट्रिय सभामा पठाइनेछ। राष्ट्रियसभाले पारित गरेपछि विधेयक फेरि प्रतिनिधिसभामा फर्काइनेछ। दुवै सदनबाट पारित भएको विधेयक सभामुखमार्फत राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइनेछ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र विधेयक ऐनका रूपमा कार्यान्वयनमा आउनेछ।

विधेयकमा निजी विद्यालयको व्यवस्थापन, प्रारम्भिक बाल विकास केन्द्र (ईसीडी) र शिक्षक सेवा सुरक्षाका विषय सबैभन्दा विवादास्पद बनेका छन्। यी विषयमा सहमति जुटाउन शिक्षा समितिका सदस्यहरू प्रयासरत छन्। यदि राजनीतिक सहमति कायम रह्यो भने पर्सीभित्रै विधेयक पारित हुने सम्भावना बलियो छ।

प्रकाशित: १२ असार २०८२ १०:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast