
पर्वत- जलजला गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरू पाल्ने कृषकहरूलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिएको छ। चालु आर्थिक वर्ष २०८१/०८२ को गाउँपालिकाको स्थानीय गाई र गोरू संरक्षण कार्यक्रमअनुसार छनोट भएका कृषकलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिएको हो। गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य र उपाध्यक्ष दीपक आचार्यले बुधबारदेखि गाउँपालिकाको कार्यालयबाट अनुदान वितरण कार्य सुरु गरेका छन्।
चालु आर्थिक वर्षमा दुई वटा शीर्षकमा १३ लाख बजेट विनियोजन भएको कार्यक्रममार्फत पालिकाभित्रका ९ वटै वडाबाट छनोट भएका ३६५ वटा स्थानीय जातका गाई र ५४ हलगोरू पालेका कृषक अनुदानका लागि छनोट भएको गाउँपालिकाको पशु विकास अधिकृत सन्देश गौडेलले जानकारी दिए। प्रतिगाई दुई हजार र प्रतिहल गोरु आठ हजारका दरले अनुदान वितरण गरिएको उनले बताए।
गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर तोकिएको मापदण्ड पूरा गरेका कृषकहरूलाई छनोट गरेर रकम वितरण गर्न थालेको हो। स्थानीय जातको गाई संरक्षण, गोरू पाल्ने कृषकलाई प्रोत्साहन गर्दै खेतीपातीलाई बढवा दिन तथा जग्गा बाँझो रहन नदिनको लागि यो कार्यक्रम प्रभावकारी बनेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए।
गाउँपालिकाभित्र गाई र हलगोरू पाल्ने कृषकको संख्या समेत बर्सेनि बढ्दै गएको छ। व्यावसायिक किसानलाई गाउँपालिकाले नै ‘मिनी टिलर’ बाँडेको भए पनि पहाडी क्षेत्रका भिराला र बाटोको सुविधा नभएका ठाउँमा ‘मिनी टिलर’ लैजान नसक्दा पाखा, छेउछाउ र भिर नजिकका जग्गा बाँझो रहन नदिन हलगोरू पाल्ने कृषकलाई प्रोत्साहन गरिएको उनले बताए। यो कार्यक्रममार्फत आगामी आव २०८२/८३ मा पनि १३ लाख विनियोजन भएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए।
पछिल्लो कार्यकालका जनप्रतिनिधि निर्वाचित भएपछि आव २०७९/८० देखि जलजलामा स्थानीय जातको गाई संरक्षण र हलगोरू पाल्ने कृषकलाई अनुदान दिने कार्यक्रमले निरन्तरता पाएको छ। आगामी आवको बजेटमा पर्वतको पैंयू गाउँपालिकाले पनि हलगोरू पाल्ने कृषकलाई अनुदान दिनका लागि बजेट विनियोजन गरेको छ। मिनिटेलर प्रयोग गर्ने जनशक्तिको अभाव हुँदै गएपछि गाउँपालिकाहरूले परम्परागत गोरू पाल्ने प्रचलनलाई नै बढाबा दिन थालेका हुन्।