
काठमाडौँ- इजरायलले जुन १२ मा इरानमाथि आक्रमण सुरू गरेसँगै, उसले इरानको परमाणु हतियार निर्माण योजनामा आएको तीव्रता र गोपनीयता सार्वजनिक गर्दै आफूलाई त्यसबाट खतरा रहेको दाबी गरेको छ।
इजरायली प्रधानमन्त्री बेन्जायमिन नेतन्याहूले विगत धेरै वर्षदेखि इरानमाथि परमाणु बम बनाउन खोजेको आरोप लगाउँदै आएका छन्। उनले सन् २०१२ मा संयुक्त राष्ट्रसंघमा बमको कार्टुनसमेत देखाएर विश्वको ध्यानाकर्षण गराएका थिए।
तर, अहिलेसम्म इजरायलले इरान बम बनाउननजिक पुगेको ठोस प्रमाण सार्वजनिक गर्न सकेको छैन।
निरीक्षणमा ‘विश्वसनीय संकेत’ छैन
संयुक्त राष्ट्रसंघको परमाणु निगरानी संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था (आईएईए) ले इरानका परमाणु स्थलगत निरीक्षण गर्दै आएको छ। आईएईएले इरानको कार्यक्रम पूर्णतः शान्तिपूर्ण रहेको ग्यारेन्टी दिन नसके पनि अहिलेसम्म त्यहाँ सक्रिय हतियार निर्माणको कुनै विश्वसनीय संकेत फेला नपरेको जनाएको छ।
परमाणु सम्झौताबाट अहिलेको तनावसम्म
सन् २०१५ मा विश्वका शक्तिशाली राष्ट्रहरूसँग भएको परमाणु सम्झौताअनुसार, इरानले आफ्ना परमाणु गतिविधिमा कडाइ अपनाएको थियो। तर, अमेरिकाले २०१८ मा राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा सम्झौता परित्याग गरेपछि इरानमाथि पुनः प्रतिबन्धहरू लागे र त्यसपछिको आर्थिक संकटले परमाणु कार्यक्रम पुनः तिब्र बनायो।
‘ब्रेकआउट टाइम’ अब शून्य
सम्झौताअनुसार इरानलाई युरेनियम ३.६७ प्रतिशतमात्र शुद्धीकरण गर्न अनुमति थियो। तर, बम निर्माणका लागि ९० प्रतिशत शुद्धता आवश्यक पर्छ। अहिले इरान ६० प्रतिशतसम्म शुद्ध युरेनियम उत्पादन गरिरहेको पुष्टि आईएईएले गरेको छ।
आईएईएका अनुसार इरानसँग भएको संवद्र्धित युरेनियम पर्याप्त मात्रामा छ, जसबाट करिब ९ वटा परमाणु बम बनाउन सकिन्छ। ‘ब्रेकआउट टाइम’ अर्थात् बम बनाउन लाग्ने समय अब शून्यमा पुगेको बताइएको छ। जसको अर्थ केही दिन वा हप्ताभित्र इरान परमाणु बम बनाउनसक्ने अवस्थामा पुगिसकेको हो।
इरानसँग तीनवटा मुख्य संवद्र्धन केन्द्र छन्– नतांजको एक जमीनमाथिको केन्द्र, भूमिगत विशाल केन्द्र र फोर्दोस्थित पहाडी केन्द्र।
इजरायल आक्रमणपछि आईएईएले नतांजको मुख्य केन्द्र ध्वस्ता भएको र भूमिगत केन्द्र पनि क्षतिग्रस्त भएको जनाएको छ। इरानको फोर्दो केन्द्रमात्र सुरक्षित रहेको बताइएको छ।
बम बनाउने गति कति?
संवद्र्धनबाहेक बम बनाउनका लागि अन्य प्रविधि र डिजाइन आवश्यक पर्छ। यदि इरानले बमलाई ब्यालेस्टिक मिसाइलबाट प्रक्षेपण गर्नुपर्ने हो भने त्यसका लागि सानो बम डिजाइन आवश्यक हुनेछ। यी पक्षमा इरान कति अगाडि छ भन्ने स्पष्ट छैन।
विश्लेषकहरूका अनुसार इरानले सबै प्रक्रिया सम्पन्न गर्न केही महिनादेखि एक वर्षसम्मको समय लिन सक्छ। आईएईए प्रमुख रफायल ग्रोसीले एक अन्तर्वार्तामा भने,‘यो भोलि हुने छैन। तर, धेरै वर्ष पनि लाग्ने छैन।’
के इरानले बनाउनेछ परमाणु बम?
इरानले आफूले परमाणु बम बनाउने उद्देश्य नराखेको दाबी गर्दै आएको छ। तर, आईएईएले अमेरिकी गुप्तचर निकायहरूले उद्धृत गर्दै जनाएअनुसार इरान सन् २००३ सम्म परमाणु हतियारसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको थियो। सन् २००९ सम्म केही गोप्य गतिविधिहरू बाहिरिएको भन्ने शंकासमेत गरिएको छ।
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईले सार्वजनिक रूपमै भनेका छन्,‘यदि हामीले बम बनाउन चाह्यौँ भने संसारका कुनै पनि नेताले रोक्न सक्दैनन्।’
आईएईएले हाल इरानको परमाणु गतिविधिमा पूर्ण निगरानी गर्न असमर्थ रहेको बताएको छ। इरानले सन् २०१५ मा भएको सम्झौताका प्रावधानहरू मान्न अस्वीकार गरेपछि निरीक्षणको पहुँच घटेको हो। यसले नयाँ संवद्र्धन केन्द्र गोप्य स्थानमा भएको आशंका पनि जन्माएको छ। यद्यपि यसबारे कुनै ठोस प्रमाण अझै प्राप्त भएको छैन।(डीडब्ल्यूको सहयोगमा)