
काठमाडौँ- इजरायलको बीरशेभा सहरमा रहेको सोरोको अस्पतालनजिकै इरानले गरेको मिसाइल आक्रमणका कारण गम्भीर क्षति भएको छ।
घटनाका बेला सोही क्षेत्रमा रहेकी मेडिकल तेस्रो वर्षकी विद्यार्थी एरियल हार्परका अनुसार विस्फोट अत्यन्तै शक्तिशाली थियो।
बीबीसीसँग उनले भनिन्,‘पूरै भवन बलियो आवाज र कम्पनसँग हल्लिएको थियो। मैले यति शक्तिशाली विस्फोट कहिल्यै महसुस गरेको थिइन।’
इरानी मिसाइल आक्रमणमा परी तीन जना गम्भीर घाइते भएका छन्। होलोनस्थित अपार्टमेन्ट ब्लकको छानो खसेको छ। आक्रमणको प्रभावले दुई सय मिटर टाढासम्मका घरका झ्याल र सटर उडेका छन्।
यसैबीच इरानी सरकारी समाचार संस्था आईआरएनएका अनुसार मिसाइल आक्रमणको लक्ष्य अस्पताल नभई सैन्य स्थल रहेको थियो। अस्पताल छेउमा रहेको इजरायली सेना कमान्ड मुख्यालय र गभ–याम टेक्नोलोजी पार्कमा रहेको सैन्य गुप्त शिविरलाई लक्षित गरेर मिसाइल आक्रमण गरिएको इरानले जनाएको छ।
इरानले भनेको छ,‘अस्पताल विस्फोटको तरंगमा परेको मात्र हो, ठूलो क्षति भएको छैन। मुख्य निशाना सैन्य संरचना नै थियो।’
तर, इजरायली अधिकारीहरू भने यो दाबी अस्वीकार गर्छन्। इजरायली आपतकालीन सेवा मगन डाभिद एडोम (एमडीए) का अनुसार आक्रमणमा कम्तीमा ६५ जना घाइते भएका छन्।
इरानले नागरिक क्षेत्रहरूलाई लक्षित गर्दै सोरोका अस्पतालमा सीधा आक्रमण गरेको इजरायलले आरोप लगाएको छ।
इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘आब बिहान इरानका आतंकी शासकहरूले बेर्शेबाको सोरोका अस्पताल र आमनागरिकमाथि मिसाइल आक्रमण गरे। इरानी शासकहरूले यसको ठूलो मूल्य चुकाउनु पर्नेछ।’
एक इजरायली सैन्य अधिकारीका अनुसार इरानले हालैको आक्रमणमा दर्जनौँ मिसाइल प्रहार गरेको छ।