
काठमाडौँ- फिल्म ‘सिटामोल’को गीत ‘झुम्का कानैमा’ सार्वजनिक गरिएको छ। गीतको भिडियोमा कर्णाली भेगमा प्रचलित हुड्के नृत्यलाई प्रस्तुत गरिएको छ। कविराज गहतराजकाे कोरियोग्राफी रहेको भिडियोमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालले अभिनय गरेका छन्।
गोविन्द भट्टको शब्द रहेको गीतमा बाबुल गिरीको संगीत र स्वर छ। साथै गायनमा गायिका शान्तिश्री परियारले साथ दिएकी छन्। गीतको भाका पनि देउडा र लोक शैली मिश्रित छ।
फिल्म आगामी साउन २३ देखि प्रदर्शन हुनेछ। राज बहादुर सानेको निर्देशनमा बनेको फिल्म सामाजिक कथामा बनेको छ। निर्देशक साने र प्रदीप भारद्धाजको कथा रहेको फिल्मका प्रस्तुतकर्ता सिमोस सुनुवार हुन्।
फिल्ममा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बाल कलाकार करण परियार, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ। श्री कृष्ण र जानुकाले यही फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेका हुन्।
तुल्सी देवी फिल्म र जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्मका निर्मातामा भुगोल कुमार कार्की र विकाश राज जोशी छन्।