पोखरामा ‘महाभोज’ को प्रिमियर

हिमाल प्रेस २७ जेठ २०८२ १३:१० | Tuesday, June 10, 2025
पोखरामा ‘महाभोज’ को प्रिमियर

पोखरा- दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’ को पोखरामा प्रिभ्यू प्रिमियर भएको छ। चिप्लेढुंगास्थित क्युएफएक्स ट्रेड मलमा सोमबार साँझ प्रिमियर आयोजना गरिएको हो।

फिल्म हेर्न कलाकारसँगै पोखराका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, केही सहकारीपीडित, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकारसमेत पुगेका थिए।

फिल्मका प्रमुख कलाकार आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक दिनेश राउत र निर्माता हिमाल कडरिया लगायतको उपस्थिति थियो।

सहकारी संकट तथा पीडितको कथावस्तु बोकेको फिल्म पोखरा नजिकै घाचोकमा गतवर्ष सुटिङ गरिएको थियो । केही दृश्य काठमाडौँमा पनि खिचिएको छ।

फिल्म हेरिसकेपछि पोखरेली दर्शकले यसको कथा, प्रस्तुति शैली र कलाकारको अभिनयको प्रशंसा गरे।

आफ्नै कथाव्यथा बोकेको भन्दै केहीले ‘महाभोज’ले विगतमा फिल्म ‘आगो’ ले जस्तै विद्रोह जन्माउन सक्ने प्रतिक्रिया दिए। सत्ताधारीलाई नै तलमाथि गराउन सक्ने शक्ति फिल्ममा रहेको भन्दै कसैको दबाबमा दृश्य काँटछाँट भए त्यसविरुद्ध आफूहरू उभिने चेतावनीसमेत दिए।

फिल्ममा गाउँपालिका अध्यक्ष भूमिकामा देखिएका आर्यन चुनाव लड्न सहकारीको पैसा चलाउँछन्। आक्रोशित केही दर्शकले नाराबाजी गर्न थालेपछि मेयर आचार्य प्रतिक्रिया नदिई बाहिरिएका थिए।

फिल्मको केही दिनअघि काठमाडौँमा पनि प्रिभ्यू प्रिमियर भएको थियो। दर्शकले ‘महाभोज’ ले सहकारी पीडितको कथालाई विस्तृतमा प्रस्तुत गरेको भन्दै सकारात्मक प्रतिक्रिया दिएका थिए।

फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायत कलाकारको प्रमुख अभिनय छ। फिल्मका निर्देशक दिनेश राउत हुन्।

फिल्मको पोखरापछि बुटवल, विराटनगर र धरानमा पनि प्रिमियर हुने निर्माण टिमले जनाएको छ।

क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुतिमा निर्माण भएको हो। हिमाल कडरिया निर्माण रहेको फिल्मको कार्यकारी निर्माता किरण नेपाली हुन्। फिल्म यही जेठ ३० देखि हलमा लाग्नेछ।

प्रकाशित: २७ जेठ २०८२ १३:१० | Tuesday, June 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast