
काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षीको आग्रहमा संसद् बैठक दुई दिनपछि सारिएको बताएका छन्।
सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले मंगलबारसम्ममा सहमति खोज्न प्रयास गर्ने प्रस्ताव प्रतिपक्षीले राखेपछि संसद् बैठक दुई दिनपछि सारिएको बताएका हुन्।
उनले सत्तापक्ष अधिक लचकताका साथ प्रतिपक्षीसँग संवादमा बसेको धारणा राखे। प्रतिपक्षीले हौसिएर भिजिट भिसा प्रकरण निकालेर सदन अवरुद्ध पारेको भन्दै उनले अब सदनको अवरोध हटाउने जिम्मेवारी पनि प्रतिपक्षीकै रहेको बताए। बर्तौलाले प्रतिपक्षी दलसँग सहमतिको कुनै ड्राफ्टमा छलफल नभएको स्पष्ट पारे।
उनले संवैधनिक आयोगले अनुसन्धान गरिरहेको विषयमा त्यसको निष्कर्ष नआई अन्य कुनै आयोग वा समिति बनाएर छानबिन गठन गर्नु उपयुक्त नहुने बताए।