पुस्तक चर्चा

संस्कृति र जीवन मूल्य सिकाउने ‘संस्कार शिक्षा’

माधवप्रसाद नेपाल २४ जेठ २०८२ १७:५७
144
SHARES
संस्कृति र जीवन मूल्य सिकाउने ‘संस्कार शिक्षा’

एक पुस्ताबाट अर्को पुस्तामा नैतिक मूल्य, सामाजिक व्यवहार, सांस्कृतिक परम्परा र जीवनशैलीका सिद्धान्त हस्तान्तरण गर्नु हाम्रो जीवन पद्धतिको अभिन्न पक्ष हो। संस्कारको हस्तान्तरण अभिभावक, शिक्षक, सामाजिक व्यवहारबाट हुन्छ।

बालबालिकाले आचरण, परम्परा, धर्म र संस्कृतिको ज्ञान आफ्ना अभिभावक तथा समाजबाट सिक्छन्। यसले व्यक्तिको चारित्रिक विकासमा मात्र सहयोग गर्दैन समाजमा सदाचार, अनुशासन र परम्पराको निरन्तरता पनि कायम हुन्छ। संस्कारको सही हस्तान्तरण नभएमा सामाजिक विकृति फैलिन सक्छ। त्यसैले आफ्नो चिनारी, समाज र राष्ट्रको दिगो विकासका लागि सांस्कृतिक परम्परा हस्तान्तरण अत्यन्त आवश्यक मानिन्छ।

अहिले हाम्रो विद्यालय शिक्षा पद्धतिमा सामाजिक मूल्य, नेपाली सामाजिक मूल्यमान्यता र व्यक्तिगत आचरणका कुराहरू छायामा पारिएका छन्। विद्यालय स्तरमा नैतिक शिक्षा पठनपाठन हुँदैन। नेपाली भूमिमा उत्पन्न भएका ज्ञानका कुराहरूबारे बालबालिकालाई जानकारी नै दिइँदैन। यहाँका कलाकौशल र सभ्यताबारे पनि गहिरो गरी अध्यापन गराइँदैन। त्यसकारण बालबालिकामा हाम्रो संस्कार र संस्कृतिको ज्ञान हस्तान्तरण हुन सकेको छैन।

कुनै व्यक्तिले आफ्नो जातीय, भाषिक र सांस्कृति कुरा गर्‍यो भने उसलाई तिरस्कार गर्ने जमात ठूलै छ। डा. स्वामी केशवानन्द यस्तै यस्तै विकृति हटाउन अहोरात्र सक्रिय हुनुहुन्छ। कहिले संस्कार शिक्षाको उद्बोधनमार्फत त कहिले विभिन्न सञ्चारमाध्यममार्फत उहाँले नीतिनिर्माता, दलका नेताहरू र समाजलाई संस्कार शिक्षाको महत्त्वबारे झक्झक्याउँदै आउनुभएको छ। यतिमात्रै होइन उहाँले जिज्ञासुहरूलाई आफ्नो आश्रममा नेपाली सभ्यता, समाज र संस्कृतिबारे मात्रै होइन पूर्वीय आर्ष परम्पराका वेद, उपनिषद् र दर्शनका बारेमा अध्यापन गराउँदै आउनुभएको छ। त्यसबाट कैयौँ बालबालिका पनि लाभान्वित भइरहेका छन्।

डा. स्वामी पूर्वीय सभ्यता र संस्कृतिको आदिस्रोत वैदिक वाङ्‌मयलाई प्रविधिमा जोड्न सक्रिय हुनुहुन्छ। उहाँकै सक्रियतामा निर्माण भएको संस्कृत-नेपाली-अंग्रेजी-हिन्दी शब्दकोशको ‘एप’ जोसुकैले पनि आफ्नो मोबाइलमा डाउनलोड गरेर प्रयोग गर्न सक्छन्। उहाँ वैदिक सभ्यता र संस्कृतिलाई कृत्रिम बौद्धिकता (एआई) मा आबद्ध गराउन निरन्तर लागिरहनुभएको छ।

यसका साथै डा. स्वामीले संस्कार शिक्षालाई विद्यालय तहका बालबालिकामा केन्द्रित गरी ‘संस्कार शिक्षा’ शीर्षकको पुस्तक प्रकाशन गर्नुभएको छ। सनातन संस्कृति र मानवीय मूल्यको सर्वोत्कृष्ट यात्राका रूपमा आएको उक्त पुस्तकको पहिलो भाग देशका विभिन्न पालिकामा केही वर्षअघिदेखि नै पठनपाठन हुँदै आएका छन्।

पहिलो भागको लोकप्रियताकै कारण विभिन्न स्थानीय सरकारहरूको अनुनयमा उहाँले दोस्रो भाग प्रकाशन गर्नुभएको हो। यहाँ ‘संस्कार शिक्षा’ दोस्रो भागका बारेमा चर्चा गरिएको छ।

स्वामीले पुस्तकको आवरण पृष्ठको भित्रपट्टि संस्कार शिक्षा किन? भन्ने विषयमा केही सूक्तिवाक्यहरू प्रस्तुत गर्नुभएको छ। त्यसको निचोड छ- चरित्रको प्रयत्नपूर्वक रक्षा गर्नुपर्छ। धनसम्पत्ति आदि वस्तुहरू आउनेजाने भइरहन्छन्। धनसम्पत्तिहीन भएर केही हुँदैन तर चरित्रहीन जीवन मृत्युतुल्य हुन्छ। त्यसैले चरित्रको सुरक्षाका लागि पनि संस्कार चाहिन्छ।

यसैगरी उहाँले संस्कार शिक्षाको उद्देश्य बालबालिकामा आफ्नो पूजापद्धति, देवता, तीर्थ, नदी, चाडपर्व, जात्रा, परम्परा र सनातन मूल्यमान्यताको जानकारी दिई नैतिक चेतनाले प्रबुद्ध गराउनु रहेको उल्लेख गर्नुभएको छ।

पुस्तकको आरम्भमा रहेको ‘शिवसूत्र’ ले बालबालिकाई स्वर र व्यञ्जनसहित वर्ण उच्चारणबारे सिकाउँछ। ११ वटा अध्याय रहेको प्रस्तुत कृतिका सबै अध्यायबारे यहाँ उल्लेख गर्न त्यति सान्दर्भिक हुँदैन। अतः यहाँ पुस्तकका महत्त्वपूर्ण समेट्ने प्रयास गरिएको छ।

हामीलाई प्रकृतिले सबै कुरा दिएको छ। त्यसैले हामीले प्रकृतिको पूजा गर्छौँ। त्यही भएर स्वामीले प्रस्तुत पुस्तकमा प्रकृतिको वन्दना, हिमालको वन्दना, पृथ्वीको वन्दनाबारे संस्कृतका मन्त्रहरूलाई नेपाली अनुवादसहित प्रस्तुत गर्नुभएको छ। यसैगरी किरातेश्वर र बुद्ध हाम्रा लागि वन्दनीय छन्। कुमारी, जानकी, गाई, गण्डकी, भैरव, वैदिक स्तुति वन्दनीय छन्। पुस्तकमा देवताहरूको मूर्तिस्वरूप रहेका हिमालयको वन्दना यसरी गरिएको छ-

ॐ  हिमाचल नमस्तुभ्यम् देवानामात्ममूर्तये
आकराय धुनीनाञ्च तपोभूम्यै महात्मनाम्। (हे हिमालय! देवताहरूका आत्माको मूर्तिस्वरूप हुनुभएका, नदीहरूका खानी हुनुभएका र महात्माहरूको पवित्र तपोभूमि हुनुभएका तपाईँलाई नमस्कार छ।)

विश्वामित्र, राजर्षि जनक, पाणिनि, महागुरु फाल्गुनन्द, अष्टावक्र, गोरखनाथ, बालागुरु षडानन् नेपाली भूमिसँग जोडिएका सिद्धपुरुषहरू हुन्। उनीहरूको प्रेरणादायी र अनुकरणीय जीवनीलाई सरल रूपमा प्रस्तुत गरेर पाठकहरूलाई ठूलो गुन लगाउनुभएको छ। किनभने यस्ता व्यक्तित्वहरूको जीवनी एउटै कृतिमा समेटिएको सम्भवत: पहिलोपटक हो।

पाथीभरा, हलेसी, जनकपुर, भीमेश्वर, मत्स्येन्द्रनाथ, गोसाइँकुण्ड, देवघाटधाम, मनकामना, कालीगण्डकी, लुम्बिनी, स्वर्गद्वारी र ६४ ज्योतिर्लिङ्ग नेपालीहरूको आस्थाका केन्द्र हुन्। यी सम्पदाको उत्पत्ति, धार्मिक एवम् सांस्कृतिक परिचय, तिनमा लाग्ने मेलाको चर्चा पुस्तकमा पाइन्छ।

हाम्रा चाडपर्वहरू ल्होसार, उँधौली-उँभौली, माघी, मकर सङ्क्रान्ति, तीज, असार १५ जस्ता पर्वहरू मनाउनुको औचित्य पुस्तकमा सारगर्भित रूपमा प्रस्तुत गरिएको छ।

पशु र वनस्पतिसँग जोडिएको हाम्रो जीवन पद्धतिलाई मुख्य पशु र वनस्पतिको परिचयद्वारा तिनको महत्त्वलाई जीवन्त रूपमा वर्णन गरिएको छ। उदाहरणका लागि– पिपल, आँप, डुम्री, कुश, तुलसी, दुबो, जौ, कुभिण्डो, बेल, दुबो, अपामार्गको सांस्कृतिक र आयुर्वेदिक महत्त्वलाई पुस्तकमा उजागर गरिएको छ। साथै गाई र कामधेनुको सेवा तथा कुकुर पूजासँग जोडिएको हाम्रो संस्कारका बारेमा पनि विशेष चर्चा पाइन्छ।

पुस्तकमा समेटिएका अन्य पक्ष आचरणसँग सम्बन्धित छन्। संस्कार किन आवश्यक छ? प्रदक्षिणा कसरी र कसको गरिन्छ? ध्यान गर्नाले के फाइदा हुन्छ? पञ्चशीलको पालना किन गर्ने? नदीमा स्नान गर्नुको महत्त्व के छ? षट्कर्म भनेका केके हुन्? शयन अर्थात् सुत्ने विधि केकस्तो छ? कर्मप्रति किन निष्ठा राख्नुपर्छ भन्ने जिज्ञासाको समाधान स्वामीले शास्त्रीय प्रमाणसहित दिनुभएको छ।

यसैगरी तागाधारीहरूका लागि उपयोगी जनै र शिखाको महत्त्वबारे पुस्तकमा प्रकाश पारिएको छ। पञ्चाङ्ग (पात्रो) हेर्ने तरिका, साइत हेर्नुपर्ने कारण र देव मन्दिरको दर्शन विधिबारे पुस्तकमा सिकाइएको छ। साथै आफू जलेर अरूलाई उज्यालो दिने दियोको विशेषता प्रस्तुत गरेर स्वामीले आफ्ना लागि भन्दा अरूका लागि राम्रो काम गरेर बाँच्नुपर्ने प्रेरणादायी सन्देश दिनुभएको छ।

निधारमा टीका लगाउनुको कारणबारे पुस्तकमा उदाहरणसहित पढ्न पाइन्छ। व्रत-उपासना, दुर्गायन्त्र, पुराणको परिचय, शास्त्र, शास्त्रको मर्यादा, शास्त्रीय कर्म, आफ्नो धर्मको पालना, शास्त्रविरोधी काम गर्दा मिल्ने परिणामबारे चर्चा गरेर स्वामीले शास्त्रसम्मत काम गरेमा जोसुकैको जीवन पनि सुखद हुने संकेत गर्नुभएको छ।

पुस्तकमा समेटिएका ‘लुम्बिनी’, ‘बुद्धको जीवनी’, ‘पौवाचित्र’, ‘पालि भाषा’ र ‘पञ्चबुद्ध’ जस्ता बौध धर्मसँग सम्बन्धित संस्कारका विषय हुन्। ‘मुन्धुमका आचारपक्ष’, किराँत संस्कृतिमा शिवपार्वती’मा किराँत धर्मसँग सम्बन्धित सामग्री हुन्।

यसैगरी ‘कालीगण्डकी’, ‘नदीस्नान’ र ‘गण्डकी परिक्रमा’ ले मानिससँग जोडिएको नदी सभ्यताको परिचय दिएका छन्।

हाम्रा शास्त्रमा बालिकालाई देवीको स्वरूप मानिन्छ। त्यसैले बालिकाको सम्मान गर्नुपर्छ भनेर स्वामीले किशोरहरूलाई सन्देश दिन खोज्नुभएको छ। गुन्युचोली र ढाकाटोपी लगाउँदा प्राप्त हुने हाम्रो समाजको चिनारीलाई पुस्तकमा सरल तरिकाले प्रस्तुत गरिएको छ।

पुस्तकमा रहेको अर्को महत्त्वपूर्ण पक्ष हो- कथा। विभिन्न कथाका माध्यमबाट हाम्रा संस्कार र संस्कृतिका विविध आयामलाई प्रस्तुत गरिएको छ। ‘मिल्दा साथी’ ले मित्रताको महत्त्वलाई देखाएको छ। ‘जुठो पानी’ शीर्षक कथाले आपत् परेका बेला कसरी जीवन बचाउने भन्ने सन्देश दिन्छ।

‘पाशुपतास्त्र’ ले आफ्नो तपस्या र साधना पूरा गर्न सिकाएको छ। ‘यक्ष संवाद’ ले कसैलाई पक्षपात गर्न नहुने सन्देश दिएको छ। ‘अनुभूति’ ले बाँच्नका लागि कसरी चलाखी गर्नुपर्छ भनेर सिकाएको छ। ‘धैर्यधन’ मानिसका लागि धैर्य र शान्ति अति आवश्यक रहेको विषयमा केन्द्रित कथा हो।

‘पृथ्वीको जन्म’ ले क्षमाशील हुन सिकाएको छ। ‘जानकीको उत्पत्ति’ ले सीता उत्पत्तिको पौराणिक सन्दर्भलाई औँल्याएको छ। यसैगरी ‘कुमारीको उत्पत्ति’ कुमारीको उत्पत्ति र पूजन आरम्भसँग सम्बन्धित कथा हो।

हाम्रा सम्पदा, संस्कृति र संस्कारका विषयमा कैयौँ अभिभावकलाई जानकारी नहुन सक्छ। कतिपयले यो त धार्मिक पुस्तक रहेछ। त्यस पनि केही संस्कृतका श्लोक र वेदका मन्त्र समावेश गरेर निश्चित धार्मिक समुदायका लागि मात्रै लक्षित रहेछ भन्ने प्रश्न पनि गर्न सक्छन्। यद्यपि यहाँ समावेश गरिएका हरेक अक्षर र शब्दहरू तपाईँहाम्रो जीवनसँग सम्बन्धित छन्। जानेर वा नजानेर पनि तपाईँहामीले अवलम्बन गर्दै आएका पद्धतिसँग सम्बन्धित छन्। अतः यस्ता कुरा आफूले जानकारी लिएर थोरै मात्र भए पनि नयाँ पुस्तालाई हस्तान्तरण गर्न स्वामीको संकल्प पूरा गर्नु हामी सबैको दायित्व हो।

स्वामीको अध्ययनको दायरा निकै फराकिलो छ। उहाँको चिन्तन अध्यात्ममा मात्रै सीमित छैन, गौरवपूर्ण विगत रहेको हाम्रो वैदिक सभ्यतालाई प्रविधिमा जोडेर पश्चिमासम्म पुर्‍याउन खेल्नुभएको भूमिका कुनै संस्थागत प्रयासभन्दा कम छैन।

‘संस्कार शिक्षा २’ मा रहेका यति धेरै सामग्री सरल नेपाली भाषामा प्रस्तुत गरिएको छ। केही संस्कृत श्लोक र वैदिक मन्त्रहरूले पुस्तकमा उठाएका विषयलाई थप प्रामाणिक बनाउन सहयोग गरेका छन्। यो पुस्तक हरेक किशोर-किशोरीको हातहातमा पुर्‍याउन सकेमा एकजना महात्माले निःस्वार्थ रूपमा थालनी गर्नुभएको असल कर्ममा बल पुग्नेछ। पुस्तकको प्रकाशन भाना फाउन्डेसन र वैदिक अनुसन्धान गुठीले गरेका हुन्।

प्रकाशित: २४ जेठ २०८२ १७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast