
बिहीबार भएपछि शनिबार कता हिँड्ने होला भनेर मनमा एक किसिमको बेचैनी उपन्न हुन्छ। गएको शनिबार अर्थात् जेठ १७ गते त्यस्तै भयो। सधैँ हिँडिरहने हाइक फर नेपाल र प्रकृतिप्रेमी समूह दुवैले पदयात्राको कार्यक्रम राखेका थिएनन्। एक्लै हिँड्नु पनि त्यति प्रियकर होइन।
सोच्दै थिएँ, सम्झना आयो योकेल गुरुङ भाइको। कुनै बेला हाइक फर नेपालमा पदयात्रीका लागि पथप्रदर्शक भएर काम गरेका सधैँ हँसमुख र सहयोगी भावनाका धनी यी भाइ अर्को कसैसँग मिलेर शेर्पा इको-एडभेन्चर नामक संस्था दर्ता गरेर ट्रेकिङ चलाउने रहेछन्। उनैले पदयात्रामा लिएर जाने भए। साथमा अरू केही साथीहरू पनि थपिए। समूहमा भएपछि जंगलमा हिँड्दा सुरक्षाको अनुभूति हुन्छ। झन् सबैले आआफ्नो घरबाट बनाएर ल्याएका परिकारहरू बाँडेर खान पाइने हुँदा प्रायोजित वनभोजभन्दा यो कता हो कता रमाइलो र अविस्मरणीय रहन्छ। समूहमा अझ केही उत्साही महिला साथीहरू पनि भए त खाने परिकारको विविधताको स्वाद, हँसिमजाक, नाचगानले वातावरण अझै उत्साहपूर्ण बनाइदिन्छ।
पहिलोपटक यो समूहसँग पदयात्रामा निस्किएको थिएँ। अपरिचतहरूसँगको पदयात्रा कस्तो हुने हो भनेर कनामा अलिकति संसय पनि थियो। घरबाट झोला भिरेर निस्कँदा केही रोमाञ्चकता र केही संसय बोकेर निस्किएको थिएँ। कसैले अंकल भनेर बोलाएको सुनेँ।
मास्कले मुख छोपिएको थियो। आजकल कोरोनाका संक्रमण बढ्दै छ भन्ने समाचार छ। यसले समाजलाई केही भयभीत पनि बनाएको छ र केही सचेत सतर्क पनि। त्यही सतर्कताका कारणले हुनुपर्छ यी सिनियर मेडिकल अफिसर जागिरे मास्कले मुख छोपेर उभिएकी थिइन् साथमा आफ्नी छोरीको साथ।
‘मलाई चिन्नु भएन अंकलले?’
मुखै छोपेपछि कसरी चिन्नु? आखिर मानिसको परिचय भनेको मुखै रहेछ। अनुहारले होस् या वचनले। स्वरहरू पहिचान गर्ने क्षमता मानिसमा कमै हुन्छ। दृष्टिमा उस्को प्राधान्य रहन्छ। त्यसैले होला सौन्दर्य प्रसाधन पनि मुखैमा लगाउँछन्। प्रसाधन नै लगाउने सवालमा त महिलाले सजिलै पछि पार्छन् पुरुषलाई। यो प्रविधिको जमानामा पनि मुखै हेर्छ मेसिनले, आँखाको नानी पढ्छ। हाम्री यी नानीले पनि मुख ढाकेको हुँदा चिन्न सकिनँ।
चिन्न सकिनँ भन्न पनि धक मान्नुपर्ने हुन्छ एउटा पक्षले चिनिसक्यो र बोलाई नै सक्यो भने। अर्को पक्षले चिनिनँ भन्दा त कमजोरीलाई उजागर गरेको दखिने भयो। मानिस यस्तो प्राणी हो ऊ आफूलाई सर्वश्रेष्ठ सम्झन्छ-बलवान् र बुद्धिवान्। भनेपछि हत्तपत्त ऊ आफ्नो कमम्जोरी देखाउन चाहँदैन। म पनि यस्तै दोधारमा परेँ। चिने भनौँ या चिनिनँ? ‘अँ, चिनेजस्तो लाग्छ’ भन्दा नभन्दै मुखबाट मास्क हट्यो र मेरो संसयको बादल फाट्यो। अहो, एकजना त चिनेको पथिक भेटियो भनेको त बस चढेपछि अरू पनि केही थप भेटिए। यात्रा रोमाञ्चक हुने सम्भावन प्रबल देखिए।
नयाँसडक, प्युखाबाट बिहान सात बजे बस चढेर हामी हुइँकियौँ बनेपा जाने बाटोतर्फ। भनेको जस्तो कहाँ हुन्छ र? कान्तिपुरले ‘हाफ म्याराथन’ आयोजना गरेको रहेछ। त्यही बाटोमा धावकहरू पनि कुदेका छन् र सवारीसाधन पनि। म्याराथनमा कुद्ने धावकहरूको फोक्सोमा थप केही कार्बनडाइअक्साइड, मनोअक्साइड भरेपछि बलिष्ठ भएर छिटो कुद्छन् भनेर होला सायद बीस, तीस वर्ष पुराना, कालो धुवाँको मुस्लो फ्याँक्ने बसहरू कुद्ने सँगैको लेनमा उनीहरूलाई कुदाइएको अमिलो दृश्य रमाइलो मानेर हेरियो। हाम्रो सवारी चालकले बसलाई अर्कै बाटो मोडेर चलाए। ठिमी पुग्दा धावकहरू फर्कँदै थिए।
हामीहरू भक्तपुर काटेर साँगा भन्ज्याङ पुग्यौँ। हाम्रो पदयात्रा धनेश्वरमा पुगेर टुँगिने गरी मिलाइएको थियो। हुन त साँगाबाट धनेश्वर त्यति टाढा पनि होइन। बनेपाबाट पनौतीको बाटो गयो भने बनेपा बजारबाट एकदुई किलोमिटरको हिँडाइमै पुगिन्छ। बाटैबाट देखिन्छ धनेश्वर जाने ठूलो नेपाली शैलीमा बनेको कलात्मक ढोका। कैँयौँ पटक पनौती जाँदा यही ढोका हेरेर गइयो तर धनेश्वर छिर्ने र महादेवको दर्शन गर्ने अवसर जुरेको थिएन। आज त्यही अवसर जुर्दै थियो।
साँगामा बस रोकियो। पदयात्राका विषयमा छोटो विवरण योकेल भाइबाट जानकारी गराइयो। खासमा यी जानकारी सामान्य लाग्छन् तर बेवास्ता गर्दा यसबाट पदयात्रीले अनावश्यक दुःख पाउनुपर्छ। उहाँको जोड थियो, (१) आफूले प्रयोग गरेको फोहोर, प्लास्टिक साथै घरमा ल्याऔँ, (२) यात्रामा प्रशस्त पानी पिऔँ, (३) एक्लै नहिँडौँ, कि अगाडिको समूहसँग नभए पछाडिको समूहसँग मिलेर हिँडौँ, (४) समस्या केही भए साझा गरौँ, (५) प्राकृतिक सुन्दरता मासिने काम नगरौँ, (६) गाउँलेको फसल किनेर मात्र उपभोग गरौँ आदि।
साँगा भन्ज्याङबाट सामान्य उकालो चढेर खेतमा पुगेपछि एकनासको उकालो सुरु हुन्छ। उकालो रमाइलो छ। बाटोको दुवैतर्फ प्रशस्त चुत्रोका बोटहरू पाकेको फलसहित उपस्थित थिए। पदयात्रुका लागि यो रमाइलो अनुभव थियो। वसन्त ऋतुपछि गरिने पदयात्राहरू प्राकृतिक सौन्दर्यका कारण विशेष हुने गर्छन्।
लालीगुराँस पदयात्रा सकिन पाएको हुँदैन वनमा फुल्ने कुसुमहरूले स्वादिष्ट प्राकृतिक मधुपान गराउँछन्। यसअगाडि ऐँसेलु र काफल खाएर रमाएका पदयात्रीहरू यो पदयात्रामा चुत्रोको स्वादमा अल्झिए। ऐँसेलु खान काँडासँग पौँठेजारी खेल्नुपर्दछ। चुत्रो खान कुनै लडाइँ गर्न पर्दैन। चुत्रो खाएपछि जिब्रो पूरै कालो हुन्छ। हामी सबैले जिबो पूरै कालो बनायौँ। चुत्रोघारी भएको हुँदा यो उकालोको नाम ‘चुत्रै उकालो’ भनेर हामीले नामकरण गर्यौँ। हुन त यसको नाम थियो होला। बाटोमा स्थानीय कोही नभेको हुँदा सोध्न पाएनौँ। यसको नाम नहुन पनि सक्छ, अर्थात् बेनाम। बेनामे पहाड, बेनामे उकालो यस्तै यस्तै। नाम नहुने, भएर पनि नहुने बराबर भएकाहरूको नाममा एकार लगाउने हाम्रो विशिष्ट परम्परा छ। त्यसैले यो उकालो पनि बेनामे। फरि नाम त ठाउँको विशेषताले पनि बन्छ। यो ठाउँमा चुत्रो पाउने भएको हुँदा हामीले यसको नामकरण गर्यौं, ‘चुत्रे उकालो।’
चुत्रे उकालो उक्लिन ठ्याक्के एक घन्टा लाग्यो। उकालो सकिन्नेबित्तिकै गाउँ पाइपुग्यो। गाउँमा सडक पनि पुगेको छ। घरैपिच्छे कुखुरा र बाख्रा पालिएका छन्। करेसाबारीमा आलुबखडाका रूख प्रशस्त छन्। गाउँको नामचाहिँ ‘खाल्चोक डाँडा’ रहेछ। मूलतः यो गुरुङगाउँ हो। यहाँका मानिस खेतीपातीसँगै तीनपाने बनाएर बेच्ने गर्दा रहेछन्। हामी पुग्दा अँगेनोमा तीनपाने बनाउने भाँडा ठिक्क पारिएका थिए। गाउँमा लस्करै मानिस पुगेको देखेर स्थानीय खुसी भए। लौ, आलुबखडा खाऊँँ भन्दै टिपेर दिन थाले। एकदुई दाना लिएर अरु लिन मानेनौँ हामीले। गाउँ त यसरी दिएर खुसी हुन खोज्छ। खुसी बाँड्छ।
खाल्चोक डाँडा १८ सय मिटरभन्दा केही बढीको उचाइमा अवस्थित छ। यहाँबाट हामी फेरि ओरालो लाग्यौँ। निकै तल आशापुरी महादेव जाने बाटोसम्म पुग्यौँ र दक्षिणतर्फको अर्को डाँडो उक्लियौँ। पदयात्री हिँड्न मिल्ने गरी गोरेटो बाटो भएकोले जंगलैजंगल हिँड्दा पनि त्यति कठीन भएन। पुनः एक घन्टाको ठाडो उकालो चढेपछि आउँछ ‘चतुरे डाँडा’। चतुरे डाँडाको बीचमा चारैतिर जंगलले ढाकेको र बीचमा रोटीजस्तो गोलाकार घाँसे चउर छ। यो चउर रमाइलो छ। सायद चतुरहरू बस्छन् यो डाँडाका आसपास। नत्र डाँडा आफँै चतुरे हुन नपर्ने। यहाँ बसेर हामीले तस्बिर लियौँ। यस डाँडाको उचाइ १८६७ मिटर छ। यहाँबाट केही ओरालो लागेपछि चतुरे डाँडाकै केही बस्ती फेलापर्छ। यहाँबाट हामी पूर्वतर्फ लाग्यौँ।
यसपछि डोजरे विकासको नमुना राम्रोसँग देख्न पाइन्छ। बाटो बनाइएको छ र खहरे पानीले बगाएर लगेको खाल्टे डोबहरू छोडेर गएको छ्याकटे अनुहार फिस्स हाँसेर गिज्याइरहेको देखिन्छ। यही बाटो हिँड्दै जाँदा ‘चम्खर’ आइपुग्छ। यहाँ रिसोर्ट पनि बनेका देखिन्छन्। ग्रामीण अर्थव्यवस्था केही चलायमान पनि देखिन्छ।
यहाँबाट अझ हिँड्दै अघि बढेपछि पुगिन्छ ‘बासडोल’। बासडोलमा मूलतः दुई कुराहरू वर्तमान नेपालको विकासको प्रत्यक्ष विकृत अनुहार देखिन्न पाइन्छ- डाँडा ताछेर टुक्रे घडेरी प्लानिङ र गाउँ छोडेर हिँडेकाहरूको खाली घर। डोजरले डाँडो ताछेर घडेरी बनाइएको छ। छेउ किनारामा ढुंगाको पर्खाल लगाएर सीमा विस्तार गरिएको छ। आरीघोप्टे पानी आउँदा वा अविरल झरी परेको अवस्थामा यी ठाउँमा पहिरो जाने सम्भावना एउटा सामान्य मानिसले पनि देख्दछ।
पर्यावरणको कुरा एकातिर, प्राकृतिक विपत्तिले निम्त्याउने जोखिम र मनवीय क्षतिको कथा अर्कोतिर देख्दादेख्दै र जान्दाजान्दै मानिस किन यस्तो गरिरहेका छन्। प्रशासनिक निकाय किन नदेखे जस्तो गरेर मौन बसेका छन्। बुझ्नै कठिन छ यहाँ।
बासडोलको दुई बस्तीका घर पूरै खाली र त्यागिएको अवस्थामा देख्यौँ। हुँदाखाँदाको बसिरहेको घर मानिसले किन त्यागेर हिँड्छन्। कि त प्राकृतिक विपत्तिले, खानेपानीको अभावमा बाँच्न कठिन भएर र जीवन बाँच्नका लागि चाहिने अन्न उत्पादन भएन भने मानिसले बसेको ठाउँ छाडेर बसाइँ सर्दछ। एकातिर त्यही ठाउँमा घडेरी प्लानिङ हुँदै छ भने त्यसैको आडैको अर्को बस्ती भने बसाइँ सरेको अवस्था देखिँदा नेपालमा विकासे प्रयासको ठूलो विरोधाभास देखिन्छ। यी मानिस सुखी छन् कि दुःखी? सरकारका रहरलाग्दा नाराहरूबाट धेरै पर।
बासडोलको डाँडामा बसेर उत्तरतर्फ हेर्दा अर्को पार्वत्य मानवीय विनाशकारी कर्मको प्रत्यक्ष दृश्य देखिन्छ। त्यहाँ पनि घडेरी नै बन्दै गरेको हो भनेर भन्न कुनै कठिन छैन। वल्लो डाँडो र पल्लो डाँडो समानान्तर बस्ती विकासको योजनामा पर्यावरणको विनाशमा अहोरात्र खटिएका छन्। हामी फेरि एकपल्ट तल बेसीमा झरेर उकालो चढ्दै करिब त्यही ठाउँमा पुग्नेवाला थियौँ। डोजरले डाँडा छियाछिया बनाएको कुरुप दृश्य बासडोलबाट देखियो।
बासडोलबाट हामी तल फेदीमा झर्यौँ। चिनियाँ इँटा बनाउने कारखाना रहेछ। कारखाना पछाडि छोडेर उत्तर खेतका आलीआली हुँदै उकालो लाग्यौँ। यहाँसम्म आइपुग्दा घामले हामीलाई तहसनहस बनाइसकेको थियो। जेठको चर्को घाम, दिनभरीको हिँडाइ, अनवरत उकाली-ओराली, दुईटा पहाड, भन्ज्याङ र फेदी तरेर पुनः अर्को उकालो उक्लँदै गर्दा हाफाताफी परिरहेको थियो। किसान यस्तो प्रचण्ड गर्मीमा पनि मकै गोड्दै थिए। लस्करै मानिस उकालो लाग्दै गरेको देखेर उनीहरूले अडेकल काटे, यी सहरियाहरू रहरले हिँडेका, कतिलाई सुगर होला, त्यसैले। उनीहरूको अनुमान गलत थिएन। सल्लेको डाँडामा करिब एक सय घरधुरी होला। डोजरे बाटो यहाँ पनि पुगेको छ।
अघि पल्लो डाँडाबाट देखिएको घडेरी प्लानिङको नजिकै पनि पुगियो। सल्लेको उकालो उक्लिन पनि झन्डै एक घन्टा लाग्यो। डाँडाको टुप्पोमा भने जंगल छ। यहाँबाट उत्तरको पाखो पूरै घना जंगल छ र फेदीमा छ बनेपा। सल्लेको टुप्पोबाट बनैबन छिचोलेर तल बनेपा झर्नु छ हामीलाई।
ओरालो लाग्दै जाँदा जन्तीढुंगो पुगिन्छ। जन्तीढुंगो हेर्न फलाम बार लगाएर सिँढी बनाइएको छ। जन्ती हिँडेजस्तो लहरै ढुंगाको मिलेको हर भएको कारणले जन्तीढुंगो भनिएको रहेछ। यहाँ प्रमिल जोडीको लर्को लाग्ने गरेको रहेछ। हरियो सर्लक्क मिलेको डाँडो भएको हुँदा तस्बिरका लागि निकै आकर्षक ठाउँ रहेछ।
जन्तीढुंगो पछि लहरा बुट्यानहरूसँग खेल्दै तल फेदीमा झर्दा साढे पाँच बजेको थियो। पदयात्राको प्रमुख गन्तव्य धनेश्वर महादेवको दर्शन गरियो। सतीदेवीको दायाँ कान पतन भएको ठाउँ भएको हुँदा यसलाई महत्त्वपूर्ण तीर्थस्थल मानिने रहेछ। मानिसले भाकल गरेर पूजा गर्न आउने चलन पनि रहेछ। धनेश्वरको दर्शन गरेर बस चढ्दा ६ बजेको थियो। बिहान ८ः३० मा शुरु गरेको पदयात्रा बीचमा आधा घन्टा खान खान रोकियौँ। त्यही बीचमा छमछम नाच्न पनि भ्यायौँ। घर आइपुग्दा झमक्कै साँझ परेको थियो।