नेपाल-बेलायत संसदीय मैत्री समूहको पहिलो बैठकमा सहभागी सांसदहरू।
                                            काठमाडौँ– नेपाल-बेलायत संसदीय मैत्री समूहको पहिलो बैठक सोमबार सम्पन्न भएको छ। बैठकले नेपाल र बेलायतबीचको दीर्घकालीन सम्बन्ध अझ सुदृढ बनाउने उद्देश्यसहित संसदीय मैत्री समूहलाई थप सक्रिय र प्रभावकारी बनाउने निर्णय गरेको छ।
बैठकमा समूहका सदस्य सांसदहरूबीच नेपाल–बेलायत सम्बन्धका विविध आयामहरूबारे विस्तृत छलफल भएको संयोजक विराजभक्त श्रेष्ठले जानकारी दिए। उनले भने, ‘समूहले आगामी दिनमा दुवै देशका सांसदहरूबीच नियमित संवाद, अनुभव आदानप्रदान, र आपसी समझदारी अभिवृद्धि गर्ने कार्यक्रमलाई प्राथमिकता दिनेछ।’
बैठकले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप गहिरो बनाउँदै संसदीय कूटनीतिलाई संस्थागत र सशक्त बनाउने दिशामा अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।
नेपाल–बेलायत संसदीय मैत्री समूहले आगामी दिनमा दुवै देशका हितमा काम गर्ने रणनीतिसहित योजनाबद्ध गतिविधि सञ्चालन गर्ने संयोजक श्रेष्ठले बताए। संयोजक श्रेष्ठ संयोजक रहेको समूह सदस्यमा विमलेन्द्र निधि, सुशीला थिङ, भगवती न्यौपाने, सुहाङ नेम्बाङ, माधव सापकोटा, पशुपतिशमशेर जबरा र डा. चन्द्रकान्त राउत छन्।

                                             
                                             
                                             
                                             
                                             

