
काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई आजदेखि (११-१३) गृहजिल्ला गोरखाको तीनदिने भ्रमणमा निस्किएका छन्।
२०६४ सालको संविधानसभा चुनाव जितेपछि ‘हरेक महिना गोरखा आउने’ सार्वजनिक प्रतिबद्धता जनाएका डा.भट्टराईले त्यसअनुरूप पुनः गोरखा-२ निर्वाचन क्षेत्रका स्थानीयसँग प्रत्यक्ष जनसंवाद गर्ने गरी भ्रमणमा निस्किएका हुन्।
यी तीन दिनको भ्रमणमा डा.भट्टराईले बारपाक सुलिकोट, अजिरकोट, सिरानचोक र पालुङटार नगरअन्तर्गतका विभिन्न स्थानमा पुगेर स्थानीय जनताको गुनासो, माग र समस्याबारे सुन्नेछन्। साथै, क्षेत्रका विकास योजनाहरूको स्थलगत अवलोकन गरी आवश्यक पहल गर्नेछन्।
डा.भट्टराईका अनुसार यो भेटघाट केवल औपचारिकता नभई, ‘गोरखाका जनतासँग आत्मीय सम्बन्धको निरन्तरता’ हो। यसअघि पनि उनले विभिन्न समयमा विद्यालय, स्वास्थ्य चौकी, सडक निर्माण, खानेपानी योजनालगायत स्थानीय पूर्वाधारका मुद्दामा प्रदेश तथा केन्द्र सरकारसम्म आवाज पुर्याउँदै आएका छन्।
उनका समर्थकहरूले भने तीन दिनको भ्रमण छोटो भएको बताएका छन्। अजिरकाेटका रेशमबहादुर दवाडी भन्छन्,’समस्या धेरै छन् तर समय अलि थोरै रहेछ। कम्तीमा हप्ता दिनको कार्यक्रम बनाएर आउँदा राम्रो हुन्थ्यो।’
गोरखा-२ बाट प्रतिनिधिसभा सदस्यसमेत भइसकेका डा.भट्टराईले सधैं गोरखाको माटो र जनताको भावना नबिर्सने बताएका छन्।