
काठमाडौँ- मोटरसाइलक दुर्घटनामा सप्तरीमा दुई जनाको ज्यान गएको छ। सप्तरीको राजगढ गाउँपालिका–५ मलेखपुरस्थित हुलाकी सडकमा शनिबार दिउँसो दुर्घटना भएको हो।
र्दुघटनामा परी म.प्र.०२–०१९ प ९६२६ नम्बरको मोटरसाइकलमा सबार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले मृतकहरूको सनाखत हुन बाँकी रहेको जानकारी दिए।
पत्थरगाढाबाट राजविराजतर्फ जाँदै गरेको स १ त ५४४२ नम्बरको ट्याक्टर र विपरित दिशाबाट आउँदै गरेको म.प्र.०२–०१९ प ९६२६ नम्बरको मोटरसाइकल ट्याक्टरको पछाडि भागमा ठोक्किएर दुर्घटना भएको उनले बताए।
मोटरसाइकलमा सवार तीन जनामध्ये अन्दाजी २६/२७ वर्षीय युवकको उपचारको लागि लैजाँदै गर्दा बाटोमा र अर्का घाइते अन्दाजी २२/२३ वर्षीय युवकको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको डीएसपी बस्नेतले जानकारी दिएका छन्।
त्यस्तै अन्दाजी २०/२२ वर्ष उमेर रहेका तेस्रो घाइतेको छिन्नमस्ता अस्पताल सप्तरीमा उपचार भइरहेको उनले बताए। उनको अवस्था पनि गम्भीर रहेको बस्नेतले बताए।
दुर्घटनापछि फरार भएका ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।