भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

हिमाल प्रेस ८ जेठ २०८२ २०:१० | Thursday, May 22, 2025
भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास फाइल तस्बिर

चितवन– भरतपुर विमानस्थलमा ठूला जहाजको उडानलाई निरन्तरता दिने प्रयास भइरहेको छ। विभिन्न एयरलाइन्सले बेलोबलामा ठूला जहाज उडान गरे पनि नियमित गरेका छैनन्। केही महिनाअघि तामझामका साथ श्री एयरलाइन्सले परीक्षण गरेर ८० सिटे जहाज उडान सुरु गरेको थियो। तर, अहिले बन्द भएको छ।

सन् २००५ बाट नियमित उडान गर्दै आएको बुद्ध एयरले ठूलो जहाज उडानको प्रयास सुरु गरेको हो। हाल ४७ सिटको एटिआर–४२ बाट उडान भर्दै आएको बुद्ध एयरले बिहीबार ७२ सिट क्षमताको एटीआर–७२ बाट परीक्षण उडान गरेको छ।

भरतपुर विमानस्थलको धावनमार्गको लम्बाइ एक हजार २०० मिटर छ। एटीआर ७२ जहाजलाई सहज उडान र अवतरणका लागि कम्तीमा एक हजार ५०० मिटर धावनमार्ग आवश्यक पर्छ।

एटीआर–७२ जहाजको अवतरणपछि क्याप्टेन प्रमोद थापाले सहज रुपमा उडान र अवतरण गर्न सकिएको बताए। जहाजमा सँगै रहेका नागरिक उड्डयन प्राधिकरणका प्राविधिकको निर्देशनअनुसार आफूहरुले जहाज उडान र अवतरण गरेको उनले प्रतिक्रिया दिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले परीक्षण उडानको सम्पूर्ण विवरण अध्ययन गरी निर्णयमा पुगिने बताए। सम्भावना रहेमा दुई महिनाभित्रमा नियमित उडान गर्न सकिने उनको भनाइ छ।

बुद्धएयर भरतपुरका स्टेशन म्यानेजर भक्त बस्नेतका अनुसार हाल दैनिक सात उडान काठमाडौँ–भरतपुर र एउटा भरतपुर–पोखरा एटीआर–४२ बाट हुँदै आएको छ।

धावनमार्गसँगै रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्र स्थानान्तरण गरेर विमानस्थल विस्तार गर्ने योजना धेरै अघिदेखि गरिए पनि सार्थकता पाउन सकेको छैन।

प्रकाशित: ८ जेठ २०८२ २०:१० | Thursday, May 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast