
काठमाडौँ- सरकारले राजतन्त्र समर्थकलाई सरकारको उदारतालाई कमजोरी नठान्न चेतावनी दिएको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको उदारतालाई कमजोरी नठान्न राजतन्त्र समर्थकलाई यस्तो चेतावनी दिएका हुन्।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा गुरुङले राजतन्त्र समर्थकहरुलाई सभा सञ्चालन गर्ने र बोल्ने अधिकार दिइएको भन्दै निरन्तर संविधान उल्लंघन भइरहे सरकार टुलुटुलु हेरेर नबस्ने चेतावनी पनि दिए।
उनले अब राजतन्त्र समर्थकको आगामी गतिविधिको आधारमा सरकारले आवश्यक प्रतिवाद गर्ने पनि स्पष्ट पारे। गुरुङले संविधान विरोधी क्रियाकलाप बढिरहेको र हत्या, हिंसा, लुटपाट र आगजनीबाट सरकारलाई चुनौती दिने काम भइरहेको बताए। ‘राजावादीको गतिविधिलाई प्रतिबन्ध लगाउनु संवैधानिक छुट भए पनि आजको दिनसम्म प्रतिबन्ध लगाइएको छैन’, उनले भने।
मन्त्री गुरुङले जेठ १५ गते राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको ऐतिहासिक दिनलाई सरकारले भव्य रुपमा मनाउन लागेको बताए। सोही दिन राजतन्त्र समर्थक दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसहितका दलले सनातन हिन्दु राष्ट्रसहितको राजतन्त्र स्थापनाका लागि आन्दोलन थाल्ने भएका छन्।