 
                             
                                            सुर्खेत- खानेपानीमन्त्री प्रदीप यादवले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। सुर्खेत शिवशक्तिधाम, पञ्चपुरीस्थित पञ्चपुरी नगरपालिका-१, २ र ३ मा रहेको सालकोट बृहत् खानेपानी आयोजनाको आज उद्घाटन गर्दै मन्त्री यादवले संविधानमा उल्लेख भएका जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार लागिपरेको बताए।
नेपाली जनताको स्वास्थ्य र जीवनस्तर उकास्न सुरक्षित खानेपानी अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्री यादवले भने,‘खानेपानी आयोजना पूरा भएसँगै स्थानीय बासिन्दालाई स्वच्छ पानीको सहज पहुँच हुनेछ, जसले स्वास्थ्य, शिक्षा र आर्थिक क्षेत्रमै सकारात्मक प्रभाव पार्नेछ।’
खानेपानीमा जनताको पहुँच पुर्याउनु सरकारको प्रमुख प्राथमिकता भएको बताउँदै मन्त्री यादवले योजनाको निर्माण मात्र नभई तिनको प्रभावकारी कार्यान्वयनमा समेत आफू गम्भीरतापूर्वक लागिपरेको बताए।
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामुकमार श्रेष्ठले जलवायु परिवर्तनलगायत कारणले नागरिकले सुक्खा समयमा पानीको समस्या र वर्षायाममा पानीबाट हुने समस्या भोगिरहेकाले समाधानका लागि खानेपानी विभागले अग्रसरताका साथ काम गरिरहेको बताए।
उनले भने, ‘यस पञ्चपुरी सालकोट बृहत् खानेपानी योजनाले पञ्चपुरीवासीको आगामी ३० वर्षसम्मको खानेपानीको समस्या सामाधान गर्नेछ। संघीय खानेपानी कार्यालय, प्रदेश कार्यालय, स्थानीय तह सबैको संयुक्त पहलमा यस योजनाको दिगो सञ्चालन हुने मैले विश्वास लिएको छु।’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 