विश्व व्यवस्था नै तीब्र रुपमा परिवर्तन हुँदैछ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँमा सुरु भयो नयाँ ‘थिंक ट्यांक’ साथै ‘द डिप्लोम्याट नेपाल म्यागजिन’ सार्वजनिक

हिमाल प्रेस ५ जेठ २०८२ १८:२५
32
SHARES
विश्व व्यवस्था नै तीब्र रुपमा परिवर्तन हुँदैछ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – सरकारले अन्तर्राष्ट्रिय मामिलामा महत्वपूर्ण भूमिका खेल्नका लागि दोस्रो मस्तिष्कको रुपमा सहयोग गर्न भन्दै काठमाडौँमा आइतबारबाट एम्बास्डर्स क्लब र इन्टरनेशनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) को सुरुआत भएको छ। सोही अवसरमा कूटनीतिक पत्रिका तथा मिडिया प्लेटफर्म ‘द डिप्लोम्याट नेपाल’ पनि सार्वजनिक गरिएको थियो। दोस्रो मस्तिष्कको रुपमा यस्ता फोरम पनि दर्जन बढी काठमाडौँमा रहेका छन् । हुन त यसअघि पनि कूटनीति नामक पत्रिका केही समय प्रकाशनमा आएको थियो। यो तवरले स्थापित भने पहिलो पटक हो।

‘ट्र्याक टू डिप्लोमेसी’ को भूमिका निर्वाह गर्ने भनिरहेको र त्यही अनुरुप नै बाहिर ल्याउन खोजिएको भए पनि उद्घाटनमा शारिरीक अस्वस्थता देखाउँदै प्रधानमन्त्री केपी शर्मा ओली आएनन्। कार्यक्रममा प्रधानमन्त्री अस्वस्थ भएको कारण आउन नसकेको जानकारी दिइएको थियो । परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि देखिएनन् भने परराष्ट्र सचिव अमृत बहादुर राई पनि त्यहाँ उपस्थित थिएनन्। यसबाटै स्पष्ट हुन्छ कूटनीतिमा सरकारको प्राथमिकता। यद्यपि मन्त्रालयका सहसचिव एवं उपसचिवहरुको भने भिड नै थियो। सरकारले आइतबारनै सगरमाथा संवाद सम्पन्न गरेको थियो। सगरमाथा संवाद किन फितलो भएको भन्नेमा चिन्तासमेत नभएको उनीहरुले यस्ता गैर सरकारी निकायबाट हुने कार्यलाई वेवास्ता गरेका हुन्।

प्रधानमन्त्री नआउने भन्दै सरकारको तर्फबाट गृहमन्त्री रमेश लेखक आएपछि कार्यक्रमको प्रमुख अतिथि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बनेका थिए। ‘म यो कार्यक्रमको अतिथिको रुपमा आएको थिएँ। प्रधानमन्त्री नआउनु भएपछि प्रमुख अतिथि भएर सम्बोधन गर्दैछु,’ उनले भनेका थिए। डा. भट्टराईले आईआरजीडीडी, एम्बास्डर्स क्लब र ‘द डिप्लोम्याट नेपाल’ म्यागेजिनको शुभारम्भले विश्वमा भइरहेको भूराजनीतिक गठजोड परिवर्तनमा नेपालले एक महत्वपूर्ण भूमिका रहने बताउँदै भने, ‘वैश्विक व्यवस्था तीव्र रूपमा परिवर्तन हुँदैछ। र, नेपाल अब किनारामा बस्न सक्दैन। शान्ति, सक्रिय सार्वभौमिकता र न्यायमा आधारित योगदानहरुको लागि हुने प्रयास एक समयानुकूल र आवश्यक कदम हो ।’

एकैपटक तीन निकायको रुपमा सफ्ट पावर संस्था आएकोमा खुसी व्यक्त गर्दै डा. भट्टराईले भने, ‘विश्वास निर्माण र दूरदर्शिता तथा समावेशी सोचमा आधारित परराष्ट्र नीति निर्माण हुँदै गएको छ। यो प्लेटफर्महरूले श्रमिक अधिकार, जलवायु परिवर्तन, महिला र युवाको सशक्तिकरणजस्ता गम्भीर मुद्दाहरूमा आवाज उठाउँछन्। केवल प्रतिक्रिया होइन, नेपालको भविष्य निर्माणमा सक्रिय सहभागिता जनाउँछन्।’

पूर्वपरराष्ट्रमन्त्री एवं कूटनीतिक मामिलाका अब्बल लेखक रमेशनाथ पाण्डेले नेपालले आफ्नो विगत र पैरवी भुल्न हुँदैन भन्दै भने, ‘अहिले हामीमा केही लघुताभाष देखिन्छ। त्यो आवश्यक छैन। हामीले गर्ने प्रत्येक निर्णयले केवल नीति मात्र होइन, हाम्रो पहिचान, इतिहास र अस्तित्वसँग सम्बन्धित गम्भीर प्रश्नहरूलाई सम्बोधन गर्नु पर्छ।’

नेपालको सबैभन्दा महत्वपूर्ण कार्य भनेको आफ्नो उपस्थितिलाई पुनः परिभाषित गर्नु नै आजको हाम्रो कार्य रहेको बताउँदै उनले थपे, ‘निष्क्रियताबाट होइन, रणनीतिक संलग्नता, बहुपक्षीय साझेदारी र स्पष्ट कूटनीतिक आवाजमार्फत अघि बढ्नुपर्छ। त्यो चुनौतीको उत्तर हो- यस्तो प्लेटफर्म जहाँ नेपाल अरूबाट प्रतिनिधित्वको पर्खाइमा बस्दैन, तर दृढता, उद्देश्य र सिद्धान्तसाथ आफैँ बोल्छ।’

कार्यक्रममा अम्बासडर्स क्लब र आईआरजीडीडीकी अध्यक्ष तथा पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले महत्वपूर्ण संस्थाहरुको उद्घाटन केवल सुरुवात मात्र नभई यात्राको थालनी भएको बताइन्। ‘यो यात्रा नेपाललाई विश्व संवादको केन्द्रमा पुर्‍याउने यात्रा हो। नेपालको आवाज, शान्ति र सहनशीलतामा आधारित, अब विश्व मञ्चमा गुञ्जिनेछ। साना राष्ट्रहरू उभिनुपर्छ। द्वन्द्वमा होइन, दृढतामा। हामी स्पष्ट भाषामा बोल्नुपर्छ, सहानुभूतिसाथ संवाद गर्नुपर्छ र साहसका साथ अघि बढ्नुपर्छ। विश्व परिवर्तनको सामना गर्दै हामीले त्यसमा आफ्नो भूमिका खेल्नुपर्छ, केवल प्रतिक्रिया होइन।’

जहाँ विचारहरू स्वतन्त्र रूपमा बहस गरिन्छन् र साना वा ठूला सबै आवाजहरू सुनिन्छ भन्ने संस्थाको रुपमा यसलाई विकास गर्दै लैजाने बताउँदैपूर्व राजदूत शर्मिलाले भनिन्, ‘सबै राजदूतहरू, मिशन प्रमुखहरू र कूटनीतिक समुदायका सदस्यहरू यो साझा दृष्टिकोण र यो क्लबको हिस्सा हुन्। कूटनीतिज्ञका रूपमा, नेपालले न केवल आफ्नो लागि, तर समानता र समझदारीको खोजीमा लागेकाहरूका लागि स्पष्ट र आत्मविश्वासी आवाज बन्नुपर्छ।’

कुटनीतिले रंग, सीमा वा हैसियत पछ्याउँदैन भन्दै उनले भनिन्, ‘यसले मूल्य पछ्याउँछ। हामी एउटै आवाजमा बोल्छौँ। र, यसै वाचा साथ, नेपाललाई नक्शाभन्दा माथि उठाई विश्वका लागि आवाज बनाउने अठोट गर्दछौँ।’

पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले आईआरजीडीडी र एम्बास्डर्स क्लबलाई ‘समय सापेक्ष र रूपान्तरणकारी’ प्लेटफर्मको रूपमा व्याख्या गर्दै भनिन्, ‘विश्व आपसमा जटिल संकट र जलवायु संवेदनशीलतासँग जुझिरहेको अवस्थामा यस्ता पहलहरू नेपालका लागि महत्त्वपूर्ण छन्। केवल चुनौती सामना गर्न होइन, अन्तर्राष्ट्रिय कूटनीतिमा नेपालको भूमिका सशक्त बनाउन पनि।’

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक अध्यक्ष डीपी अर्यालले भने, ‘यी पहलहरूले नेपाल र विश्वमा भइरहेको जटिल कूटनीतिक अभ्यास सुधार्न मद्दत गर्नेछन्। अहिलेको समयमा जलवायु संकट, एआई र आप्रवासनका चुनौतीसँग जुझिरहँदा परम्परागत अभ्यासलाई नयाँ अभ्यासले प्रतिस्थापन गर्नुपर्छ। यी पहलहरूले नयाँ विचारहरू ल्याउन र प्रवद्र्धन गर्न प्रमुख भूमिका खेल्नेछन्।’

डिप्लोम्याटिक कर्प्स डीन तथा नेपालका लागि इजिप्टकी राजदूत नोहा हाम्दी अहमदले आयोजक समिति तर्फबाट धन्यवाद ज्ञापन दिँदै भनिन्, ‘आईआरजीडीडी, एम्बास्डर्स क्लबले अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवद्र्धन गर्ने एक महत्वपूर्ण प्लेटफर्म प्रदान गर्छ, जसले कूटनीतिज्ञहरूलाई अनुभव र ज्ञान साट्न सहयोग पुर्‍याउँछ। साथै, द्विपक्षीय र बहुपक्षीय कूटनीति प्रवर्द्धनमा पनि सहायक हुनेछ।’

नेपालको कूटनीति पेशागतता, आत्मीयता र आतिथ्यतामा आधारित रहेको पनि उनले बताउँदै भनिन्, ‘जसले नेपाललाई शान्ति प्रवर्द्धन तथा वैश्विक चुनौतीहरूप्रति न्यायसंगत रूपमा भूमिका खेल्न सक्षम बनाएको छ।’ नेपालका लागि राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगर हाम्दीले विनाशका दिनहरूपछि अब उत्सव मनाउने समय आएको बताउँदै भनिन्,‘तपाईँहरुले हामीलाई प्रेरित गराउने तीनवटा कारण लिएर आउनु भएको छ। यसमा सबैको साथ र समर्थन आवश्यक छ।’

कार्यक्रममा प्रमुख अतिथि डा. भट्टराई, गृहमन्त्री रमेश लेखक, पूर्वउपप्रधानमन्त्री सुजाता, पूर्वपरराष्ट्रमन्त्री पाण्डे, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक अध्यक्ष अर्याल, एम्बास्डर्स क्लब र आईआरजीडीडीकी अध्यक्ष डा. ढकाल, ‘द डिप्लोम्याट नेपाल’ म्यागेजिनका प्रकाशक विमल ढकाल, डिप्लोम्याटिक कर्प्सका डीन इजिप्टका राजदूत नोहा र राष्ट्रसंघीय आवासीय संयोजक हानाले संयुक्त रूपमा पत्रिका विमोचन गरेका थिए।

प्रकाशित: ५ जेठ २०८२ १८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast