बनेपामा बन्ने फिल्म छायांकन स्टुडियो छ दशकपछि शिलान्यास 

हिमाल प्रेस ३० वैशाख २०८२ १७:५१
28
SHARES
बनेपामा बन्ने फिल्म छायांकन स्टुडियो छ दशकपछि शिलान्यास 

काठमाडौँ- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१० मा निर्माण हुने भनिएको ‘सिनेपा’ नामक फिल्म छायांकन स्टुडियो शिलान्यास भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार (आज) ‘सिनेपा’ काे उद्घाटन गर्दै स्टुडियोको शिलान्यास गरेका हुन्। कार्यक्रम चलचित्र विकास बोर्डले आयोजना गरेको हो।

४२ रोपनी जग्गामा निर्माण हुने उक्त स्टुडियो अत्याधुनिक सुविधायुक्त छायांकन स्थलसमेत रहनेछ। नेपालमा फिल्म बन्न थालेको छ दशक बितिसक्दा पनि कतै स्टुडियो निर्माण नभएकोमा फिल्मकर्मीहरुले गुनासो गर्दै आएका थिए।

नेपालमा २०२२ साल देखि नै फिल्मकर्मीहरुले स्टुडियोको अभाव महशुस गरिरहेका थिए। उक्त समयदेखि नै यो विषयमा छलफल चलिरहेको फिल्म निर्देशक तथा अभिनेता नीर शाहले बताए। अहिलेको प्रविधियुक्त समयमा देशमा नै सहुलियतमा काम गर्न आवश्यक रहेको उल्लेख गरे।

नेपाली फिल्म क्षेत्रका लागि ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायांकन स्टुडियो निर्माण आरम्भ हुनु एक प्रकारको क्रान्ति भएको प्रधानमन्त्री ओलीले बताए। नेपाली फिल्म क्षेत्रले छ दशकदेखि उठाउँदै आएको विषय अब बन्ने प्रक्रिया अघि बढेको उनकाे भनाइ थियाे।

प्रधानमन्त्री ओलीकै पहिलो कार्यकालमा उक्त स्टुडियो निर्माणको निर्णय भए पनि जग्गा विवाद र सरकार परिवर्तन लगायत विविध कारणले काम अवरुद्ध भइरहेकाे थियाे। ‘त्यसबेलाको जति अहिले राज्यको ढुकुटीमा पैसा छैन तर पनि थालेका काम हामी पूरा गर्छौँ,’ उनले भने, ‘यसको लागि बजेट विनियोजना हुन्छ। काम थालेपछि सफल हुन्छ। यसलाई पनि सफल बनाउनु पर्छ। यो उद्घोषले यस क्षेत्रमा युग परिवर्तन सुरु भएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘ओरालो लागेको अर्थतन्त्रलाई हामीले लयमा ल्याएका छौँ, अब यो अर्थतन्त्रको गाडी त्रिशुलीमा खस्दैन। हामी सिने क्षेत्रप्रति सधैँ सकारात्मक र सहयोगी छौँ।’

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, बागमती प्रदेशका सांसद कञ्चनचन्द्र वादे, सञ्चार मन्त्रालयका सचिव राधिका अर्याल, अभिनता नीर शाह, अभिनेत्री वसुन्धरा भुसाललगायत थुप्रै फिल्मकर्मीहरु सहभागी थिए।

प्रकाशित: ३० वैशाख २०८२ १७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast