पर्यटन बोर्डमा बारपाकको फोटो प्रदर्शनी गरिने

हिमाल प्रेस ३० वैशाख २०८२ १५:०५ | Tuesday, May 13, 2025
पर्यटन बोर्डमा बारपाकको फोटो प्रदर्शनी गरिने

काठमाडौँ- २०७२ सालको भूकम्पको क्षतिबाट पुनर्निर्माण गरिएको बारपाकको फोटो प्रदर्शनी र कुण्डलिनी कला प्रदर्शनी आयोजना हुने भएको छ। नेपाल पर्यटन बोर्डको आयोजनामा आगामी जेठ १ देखि ३ गतेसम्म बोर्ड परिसरमा उक्त प्रदर्शनी गर्न लागिएको हो।

फोटोपत्रकार प्रकाशचन्द्र तिमल्सेनाले खिचेको बारपाकको फोटो प्रदर्शनी हुन लागेको बोर्डले जनाएको छ। नेपालको भावनात्मक गहिराइ, सृजनात्मक र प्रेरणादायी प्रदर्शनीहरू गर्न लागिएको बोर्डले जनाएको छ।

गोरखा भूकम्पको १० वर्षपछिको स्मृति दिवसका अवसरमा फोटो प्रदर्शनी गर्न लागिएको हो। यो प्रदर्शनीले बारपाकको पुनर्निर्माण र पुनर्जीवनको यात्रालाई प्रभावशाली फोटोहरूको माध्यमबाट चित्रण गर्ने आशा गरिएको छ।

बोर्डले विभिन्न व्यक्ति र संस्थाहरूको सहकार्यमा नेपालका दृश्य सम्पदा र सामूहिक स्मृतिलाई दस्तावेज गर्दै आएको उल्लेख गरेको छ। लगत्तै आगामी जेठ ४ देखि १० गतेसम्म पर्यटन बोर्डले कलाकार भीमप्रसाद शर्माको १३औँ एकल कला प्रदर्शनी ‘कुण्डलिनी–२ः दिव्य जागरणको ऊर्जा मार्ग’ प्रस्तुत गर्नेछ।

ऊर्जा, चेतना र अध्यात्मिक रूपान्तरणको विषयवस्तुलाई आधार बनाउँदै उक्त कला प्रदर्शनीले रङ्ग, रूप र प्रतीकहरूको प्रयोगमार्फत दर्शकहरूलाई आन्तरिक यात्राको सन्देश दिनेछ।

यस प्रदर्शनीले ‘ह्यासट्याग फोटोनेपाल’ अभियानमा नेपालको सांस्कृतिक आत्मालाई चित्रकलाका माध्यमबाट विश्वसामु उजागर गर्ने उद्देश्य राखेको छ। ‘यी दुई प्रदर्शनीहरूले नेपाललाई केवल देखिने मात्र होइन, अनुभव गरिने देशका रूपमा प्रस्तुत गर्छन्,’ बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भने।

प्रकाशित: ३० वैशाख २०८२ १५:०५ | Tuesday, May 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast