 फाइल तस्बिर।
                             फाइल तस्बिर।
                                            काठमाडौँ– उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउने गरी आगामी आर्थिक वर्षको बजेट तयार भइरहेको बताएका छन्।
सोमबार सिंहदरबारमा आगामी आर्थिक वर्षको बजेट तर्जुमाका लागि नेपाल चेम्वर अफ कमर्शका तर्फबाट प्रस्तुत सुझाव ग्रहण गर्दै पौडेलले अर्थतन्त्रको सिथिलता चिर्न वर्तमान सरकार सुरुदेखि नै गम्भीर भएको भन्दै अव अर्थतन्त्रलाई बलियो बनाउने गरी आगामी आर्थिक बर्षको बजेट ल्याइने बताए।
उनले सरकारको प्रयासका कारण आर्थिक सूचकहरु सकारात्मक लयतर्फ अघि बढेको उल्लेख गरे। निजी क्षेत्रको सहभागितामा उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोग गठन गरी आयोगको प्रतिवेदन आइसकेको अवस्थामा त्यसका सुझावका आधारमा आगामी नीति तय गरिने उनले बताए। निजी क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएको भन्दै पौडेलले चेम्बरका सम्भव र उपयुक्त भएसम्मका सुझावहरु बजेटमा समेट्ने प्रतिवद्धता व्यक्त गरे।
त्यस्तै अर्थमन्त्रीलाई सुझाव प्रस्तुत गर्दै नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले खुला सीमाका कारण चोरी पैठारी नियन्त्रण गर्न, भन्सारका दर घटाउँदै लैजानुपर्ने बताए। उनले विद्यमान ४० र ३० प्रतिशत भन्सार दरलाई खारेज गरि अधिकतम २५ प्रतिशत कायम गर्न सुझाव दिए।
अध्यक्ष अग्रवालले आगामी बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने, बाँझो जमिनलाई लिजको व्यवस्था, माटोपरीक्षण गरी नमूना सामुहिक कृषि फार्मको विकास गर्नुपर्ने लगायतका सुझाव दिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 