गाउँमै स्वास्थ्य उपचार पाएपछि स्थानीय खुसी

हिमाल प्रेस २१ वैशाख २०८२ १९:२८
30
SHARES
गाउँमै स्वास्थ्य उपचार पाएपछि स्थानीय खुसी

सुर्खेत– सुर्खेत सिम्ता गाउँपालिका–८ का भीमबहादुर खत्री लामो समयदेखि हाडजोर्नीको समस्याबाट पीडित थिए। उपचार गर्न सिम्ताबाट कि वीरेन्द्रनगर जानुपथ्र्यो या नेपालगञ्ज। सिम्ताबाट वीरेन्द्रनगर आउन ८० किलोमिटर यात्रा गर्नुपर्छ भने नेपालगञ्जबाट एक सय ५० किलोमिटर।

आफ्नो स्वास्थ्य उपचारका लागि हप्तौँपिच्छे जानुपर्ने खत्रीलाई गाउँमै सञ्चालन गरिएको स्वास्थ्य शिविरले ठूलो राहत मिलेको छ। प्रदेश अस्पतालमा कार्यरत हाडजोर्नी विशेषज्ञ डा. शुभ श्रेष्ठसहितको टोली गाउँमै पुगेपछि भीम बहादुरलाई वीरेन्द्रनगर र नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको हो।

‘लामो समयदेखि मलाई हाडजोर्नीको समस्या छ,’ ६१ वर्षीय खत्रीले भने, ‘गाउँमा शिविर सञ्चालन हुँदा आफूहरूलाई आर्थिक भार नपरेको र सहज स्वास्थ्य सेवा लिन पाएँ। यस्ता स्वास्थ्य शिविर नियमित रुपमा गाउँमा सञ्चालन हुनुपर्छ।’

भीमबहादुरमात्रै होइन, एक दिने निःशुल्क बृहत् स्वास्थ्य परीक्षण शिविरबाट गाउँमा नै विभिन्न विशेषज्ञ सेवा लिन पाएपछि स्थानीय पार्वती नेपालीले खुसी व्यक्त गरिन्। उनले भनिन्, ‘अन्य रोगको उपचार गाउँको स्वास्थ्य चौकीमा सहजै पाइन्छ तर नसाको उपचारका लागि वीरेन्द्रनगर वा नेपालगञ्ज जानुपर्ने बाध्यता छ, गाउँमै जाँच गर्न पाएपछि खुसी छु।’

वडा नम्बर ८ कै पूर्णकला ओलीलाई पेटसम्बन्धीको समस्याले पिरोलिरहन्छ। एकदिने विशेषज्ञ स्वास्थ्य शिविरबाट लाभ लिन पाएपछि उनलाई गाउँमै विकास आएको महसुस भएको छ।

‘म पेटको बिरामी छु, उपचार गर्न नेपालगञ्ज जानुपथ्र्यो। तर यो पटक गाउँमै उपचार पाइएको छ,’ उनले भनिन्।

शिविरमा स्त्री रोग, मधुमेह, उच्च रक्तचाप, हाडजोर्नी तथा नसासम्बन्धी रोगको उपचार गरिएको छ। विशेषज्ञ चिकित्सकसहितको टोलीबाट सेवा दिइएको स्वास्थ्य शिविरबाट तीन सय जनाले सेवा पाएका छन्।

सिम्ता–८ मा पहिलोपटक गरिएको सात विशेषज्ञ चिकित्सक सम्मिलित स्वास्थ्य शिविरबाट सेवा लिन पाएपछि स्थानीय खुसी भएका हुन्। वडा कार्यालयको आयोजना तथा नेपाल प्रेस युनियन सुर्खेत, स्वास्थ्य पत्रकार समाज कर्णालीको सहकार्य, सुर्खेत उद्योग वाणिज्य संघ तथा नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशको प्राविधक सहयोगमा शिविर सञ्चालन गरिएको थियो।

शिविरमा स्त्री रोग, मधुमेह, उच्च रक्तचाप, हाडजोर्नी तथा नसासम्बन्धी रोगका समस्याबारे सेवा प्रदान गरिएको छ। शिविरमा वरिष्ठ नाक, कान घाटी रोग विशेषज्ञ डा. पारस पौडेल, वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. शुभ श्रेष्ठ, वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. नम्रता भट्टराई र वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कृतिका थापाले सेवा दिएकी थिइन्।

मेडिकल अधिकृत डा. दिलीपकुमार शाह र डा. अमृत कर्ण तथा फिजियोथेरापिष्ट डा. कैलास सिराले बिरामीलाई सेवा दिएका थिए। घरदैलोमा स्वास्थ्य शिविर आयोजना गरिएपछि आर्थिक अवस्था कमजोर भएका बिरामी बढी जसो लाभान्वित भएको वडाध्यक्ष चेतबहादुर रेग्मी बताउँछन्। शिविरमा सिम्ता गाउँपालिका–८ लगायत आसपास वडाका बिरामीको उपचार गरिएको छ।

सिम्ता गाँउपालिकाका अध्यक्ष ऐनबहादुर चन्दले नागरिकले घरदैलोमै सेवा पाउँदा खुसी व्यक्त गरेको बताए। निःशुल्क स्वास्थ्य शिविरले स्थानीय समुदायको स्वास्थ्य स्थितिमा सुधार ल्याउनुका साथै स्वास्थ्य सेवामा पहुँच बढाउन भूमिका खेलेको उनले बताए।

आगामी आर्थिक वर्षको बजेटमा नै निःशुल्क स्वास्थ्य शिविरको व्यवस्था गरेर सबै नागरिकलाई उपचारको पहुँचमा पु¥याइने अध्यक्ष चन्दले बताए। शिविरमा विभिन्न रोगका दुई सय २५ महिला र ७५ पुरुषले सेवा लिएका छन्। शिविरमा बिरामीलाई उपचारसँगै आवश्यक परामर्श र औषधिसमेत वितरण गरिएको थियो।

प्रकाशित: २१ वैशाख २०८२ १९:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast