
काठमाडौँ- नेपाली लेखक संघले उपत्यकामा तेस्रो राष्ट्रिय लेखक दिवस मनाएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा कार्यक्रम गर्दै उक्त दिवस मनाएको हो। कार्यक्रममा प्रमुख अतिथिका रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे उपस्थित थिए।
संघले प्रत्येक दुई वर्षमा प्रदान गर्ने राष्ट्रिय लेखक पुरस्कार यसवर्ष आख्यानकार ध्रुवचन्द्र गौतमलाई प्रदान गरेको छ। आख्यानकार गौतमलाई १ लाख रुपियाँ नगद राशीको ‘राष्ट्रिय लेखक पुरस्कार २०८२’ प्रदान गरिएको हो।
पुरस्कारको लागि संघलाई धन्यवाद दिँदै आख्यानकार ध्रुवचन्द्र गौतमले सम्पूर्ण लेखकलाई साहित्यलाई साधना मानेर काम गर्ने आग्रह गरे। ‘मैले पनि १० वर्षको उमेरदेखि लेख्न थालेको हुँ। २० वर्षदेखि मेरो लेख प्रकाशन हुन थाल्यो। अहिलेसम्म पनि निरन्तर लेखिरहेको छु। संघर्ष गरेर नै अहिले यो स्थानमा आइपुगेको छु। लेखकभित्र साधना गर्ने क्षमता हुनुपर्छ। लेख्न जाने पनि नजाने पनि उ भित्र चाहाना सधैँ भइरहनुपर्छ।’ उनले भने।
समीक्षक अनुपमा रेग्मीले आख्यानकार ध्रुवचन्द्र गौतमको परिचय र व्यक्तित्वमाथि प्रकाश पर्दै हाल उनी आत्मकथा लेखिरहेको जानकारी दिइन्। उनले भनिन्,‘साहित्यमा आख्यानकार ध्रुवचन्द्र गौतमको अतुलनीय योगदान छ। नेपाली साहित्यमा कथा संग्रह, नाटक, पटकथा, गीत, आख्यान गरी उहाँको करिब थुप्रै कृति प्रकाशित छ।’ नेपाली साहित्यमा प्रखर व्यक्ति मानिने गौतमले आख्यान विधामा संख्यात्मक र गुणात्मक दुबै तवरबाट उत्कृष्ट कृति प्रकाशित गरेर साहित्यमा योगदान दिइरहेको उनले बताइन्।
त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले संघको लोकतन्त्रका लागि लेखेका व्यक्तिलाई सम्मान गर्नु उल्लेखनीय काम रहेको बताए। लोकतन्त्रप्रति समर्पित विद्वानहरू नै साहित्यकार रहेको भन्दै उनले लेखनमा लगाम लगाइयो भने यसले व्यक्तिलाई सिर्जनात्मक अरूलाई जागरुक बनाउने काम गर्ने धारणा राखे। विगतमा भन्दा देशमा लेखन, कला, साहित्य, राजनीति फिल्म क्षेत्रमा राम्रो हुँदै गएको उनको बुझाई थियो।
‘लेखनलाई आशा भन्दा निराशाको खेती गरिरहेजस्तो भान भैरहेको छ। देश बन्दैन भनेर खलपात्रको चित्रण गर्ने हो भने नयाँ पुस्ता देशबाट भाग्न सक्छन। अहिले लेखन, गायन, राजनीतिमा राम्रो भइरहेको छ तर गुणस्तरीय कम भएको छ।’ उनले भने।
नेपाली भाषा साहित्यमा निरन्तरता योगदान पु¥याइरहेकाप्रति सम्मान व्यक्त गर्दै साहित्यकार डा. रत्नमणी नेपाल लेखक र लोकतन्त्रको विषयमा आफ्नो धारणा राखे। आख्यान, पुस्तक,लोकतन्त्र, प्रजातन्त्रजस्ता अन्य दिवसजस्तै लेखक दिवस पनि मनाउन आवश्यक रहेको उनले बताए। लेखकको पहिचान, अभियक्तिको माध्यम के हो भन्ने बारे चर्चा गर्न र आफूले लेखेको कुरा पुष्टि गर्न नै यो दिवस मनाउन थालेको उनले बताए। साहित्यमा हुने कार्य र कारणको सम्बन्धलाई उनले लेखकलाई कारण र लोकतन्त्रलाई कार्यको सम्बन्धसँग तुलना गरे।
‘लेखकको दल हुन्छ तर दलको लेखक हुँदैन। उसलाई दल रोज्ने छुट भएपनि पार्टीको धारणामा बसेर काम गर्न सक्छ सक्दैन भन्ने महत्वपूर्ण कुरा हो। लेखक अंश होइन। लेखक र लोकतन्त्र आफैँमा पूर्ण छ।’ उनले भने। संघभित्र रहेर काम गरिरहँदा यसको अभियान कस्तो हुनुपर्छ भन्नेमा लेखकले ध्यान पु¥याउनुपर्ने उनको धारणा थियो।
प्रगतिशील लेखक संघका अध्यक्ष डा. देवी दुलाल क्षेत्रीले लेखक संघले गरेको कामको अन्य संस्थाले पनि अनुसरण गर्नुपर्ने बताए। समाज रूपान्तरणका लागि कलमलाई निरन्तर अगाडि बढाउनुपर्ने भएकोले लेखक संघहरू एकजुट भएर लाग्नुपर्ने अवस्था आएको धारणा राखे।
त्यस्तै, साहित्यकार वैरागी काइँलाले नेपालमा साहित्यकार र लेखक सावधानी बान्नुपर्ने अवस्था आएको बताए। ‘अहिले मुलुक अफ्ट्यारो परिस्थितिमा गइरहेको छ। सामाजिक सञ्जालमा राष्ट्रिय भावना अभाव, युवा पुस्तामा देशप्रतिको माया कमि, देशभक्तिप्रति अनास्था बढ्दै किन गइरहेको छ?’ उनले प्रतिप्रश्न गरे।
आफूले मुलुकमा राष्ट्रियता अभाव देखेको र यसलाई प्रभावकरी बनाउन लेखक तथा साहित्यकारको ठूलो भूमिका रहेको उनले बताए। लेखक समाजकोे सदस्य पनि भएकोले यसबारे लेखकले पनि ध्यान दिनुपर्ने उनको धारणा थियो। लेखक आफ्नो अन्तरमन, समाजसँग जोडिएको मात्र हुँदैन्। समाजसँग टासिएर पनि लेख्नुपर्छ। जिम्मेवारी राजनीतिज्ञको मात्र नभएर समाज र साहित्यको पनि छ।’ उनले भने।
आयोजक संघका अध्यक्ष वियोगी बुढाथोकीले लोकतन्त्र बचाउन लेखकहरु पनि एकजुट भएर काम गर्नुपर्ने बताए। अन्यभन्दा आफू फरक र फराक हुन चाहेकोले संस्थाहरूबीच सहकार्य गर्न जूरी रहेको भन्दै आफूले विशिष्ठ व्यक्तिहरुबाट सल्लाह सुझावको अपेक्षा राखेको बताए।
यही अवसरमा संघले देशका लब्ध-प्रतिष्ठित ३२ लेखक साहित्यकारलाई मानार्थ सम्मान गरेको छ। जसमा साहित्यकार बैरागी काइँला, ध्रुवचन्द्र गौतम, नरहरि आचार्य, तोया गुरुङ, भुवन ढुंगाना, नगेन्द्रराज शर्मा, बलदेव शर्मा मजगैँया, डा.बेन्जु शर्मा, तुलसी भट्टराई, केदारनाथ खनाल, भूपति ढकाल ‘कमल’, मञ्जु काँचुली, कृष्ण गौतम, गोविन्दराज विनोदी, हेमाङ्गराज अधिकारी, गोविन्दराज भट्टराई, व्रतराज आचार्य, कुलप्रसाद कोइराला, गोपाल भण्डारी, रेवतीरमण लाल, वनमाली निराकार, कविराज न्यौपाने, हरि अधिकारी, ध्रुव सापकोटा, सनत रेग्मी, भक्तबहादुर बलायर, देवेन्द्रप्रताप शाह, देवीप्रसाद वनवासी, रामानन्द आचार्य, मिठाराम विश्वकर्मा, गायत्री श्रेष्ठ र ज्ञानुवाकर पौडेल थिए।
राणाकालमा काठमाडौँका लेखक तथा बुद्धिजीवीले पुस्तकालय स्थापना गर्न खोज्दा तत्कालीन प्रधानमन्त्री भीम शमशेरले दण्डित गरेको घटनालाई पुस्तकालय पर्वका नामले चिनिन्छ। त्यसै दिनदेखि वैशाख १६ लाई लेखक दिवसका रुपमा मनाउँदै आएको हो।
संघले भने २०८० सालदेखि लेखक दिवस मनाउन थालेको संघका महासचिव सोझो गाउँलेले बताए। उनले संघले उपत्यकामा मात्र नभएर जिल्ला र प्रदेशमा पनि लेखक दिवस मनाएको जानकारी दिए।