
काठमाडौँ- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत गर्न निर्देशन दिएका छन्। उनले डा. भट्टको राजीनामा स्वीकृत गर्न कामु गभर्नर नीलम तिम्सिना ढुंगानालाई निर्देशन दिएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए।
सत्ता साझेदार कांग्रेस र एमालेबीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टलाई गभर्नर नियुक्त गर्न समझदारी भएको सार्वजनिक भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार साँझ भएको भेटमा उपप्रधानमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। दुई शीर्ष नेताबीच भएको सहमतिअनुसार उपप्रधानमन्त्री पौडेलले ढुंगानालाई राजीनामा स्वीकृत गर्न निर्देशन दिएको मन्त्रालय स्रोतले जनाएको छ।
राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट भट्टले दिएको राजीनामा स्वीकृत भएको छैन। कामु गभर्नर ढुंगाना आफैँ गभर्नरको प्रतिस्पर्धी भएकीले राजीनामा स्वीकृत नगरेको राष्ट्र बैंकका अधिकारीहरू दाबी गर्छन्। ।
गत चैत २४ गते १७औँ गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएको थियो। राजनीतिक भागबन्डाका कारण गभर्नर नियुक्त हुन नसकेको जानकारहरू बताउँछन्। अर्थ मन्त्रालयका अनुसार सोमबार साँझ बस्ने मन्त्रिपरिषद् बैंठकले गभर्नरमा भट्टलाई नियुक्ति गर्ने सम्भावना छ। स्रोतका अनुसार डा. गुणाकर भट्टलाई गभर्नरमा नियुक्ति गर्ने तयारी भइसकेको छ।
योग्यता नपुगेको दाबीसहित सर्वोच्च अदालतमा दायर पूरक रिट निवेदन परेको छ। उक्त पेसी पाँचौँ पटक हेर्न नभ्याइनेमा राखिएको छ।