
काठमाडौँ- फिल्म ‘जार’ को ‘ए ठूली’ बोलको गीत सार्वजनिक भएको छ।
झुमा लिम्बू र पवन गिरीको स्वर रहेको गीतमा हर्क साउदले रचना गरेका हुन्। लोकलयमा आधारित गीतमा झुमाले नै संगीत भरेकी छन्।
गीतमार्फत लाहुरमा रहेको प्रेमीलाई घाम, पानी, खोलाको सामना गर्दा दुःख भइरहेको होला भन्दै घरमा बसेर चिन्ता गर्ने प्रेमिकाको कथा प्रस्तुत गरिएको छ।
ग्रामीण जनजीवन चित्रण गरिएको भिडियोमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, गिताञ्जली थापालगायत देखिएका छन्। गीतमार्फत फिल्म लाहुरेको कथामा आधारित रहेको अनुमान गर्न सकिन्छ।
यही २६ वैशाखबाट प्रदर्शन हुने फिल्मकाे कथा सन् १९६१ मा प्रकाशित साहित्यकार इन्द्रबहादुर राईको कथासंग्रह ‘विपना कतिपय’ मा संकलित छ। फिल्मले ऐतिहासिक कथा समेटेकाे छ।
कथामा रुद्रमान, हर्षजित र ठूली गरी तीन पात्रको कथा छ। फिल्ममा भने सौगात मल्ल रुद्रमान बनेका छन्। हर्षजित पात्रको भूमिकामा अनुपविक्रम शाही र ठूलीको भूमिकामा गीताञ्जली थापाले अभिनय गरेका छन्।
फिल्मका निर्देशक फूर्वा छिरिङ लामा हुन्। फिल्मले कथा सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनालाई चित्रण गरेको निर्देशक लामाले बताए। सिक्किममा छायांकन गरिएको फिल्म फेरि टेल पिक्चर्सकाे ब्यानरमा निर्माण भएकाे छ।