संकटमा याक-चौँरी, सरकारसँग छैन जोगाउने नीति

रमेश भारती १० वैशाख २०८२ २१:२६
32
SHARES
संकटमा याक-चौँरी, सरकारसँग छैन जोगाउने नीति दोलखाको कालिञ्चोक क्षेत्रमा चरिरहेका याक र चौँरी। फाइल तस्बिर

काठमाडौँ- हिमाली क्षेत्रमा पालिने घरपालुवा जनावर याक-चौँरीको संख्या बर्सेनि घट्दो क्रममा छ। यी जनावर संरक्षणका लागि सरकारले कुनै नीतिगत योजना बनाएको छैन। सोही कारण याक र चौँरी पालक किसानको संख्या पनि न्यून हुँदै गएको छ।

याक-चौँरी संरक्षणका लागि कार्यक्रम भने ल्याइएको छैन। सरकारी अधिकारीहरू योजना ल्याउने मात्रै बताउँछन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने हिमाली क्षेत्रको याक, भेडा, च्यांग्रा संरक्षण र विकासमा काम गर्ने बताउँदै आएको छ। सरकारले बल्ल यस वर्षदेखि ‘राष्ट्रिय याक दिवस’ मनाउन थालेको छ।

वैशाख ७ गते कृषि मन्त्रालयले पहिलो पटक ‘राष्ट्रिय याक दिवस’ मनाएको छ।  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हिमाली जनजीवनको अविभाज्य अंग बनेका याकलाई संरक्षण, सुधार र व्यावसायिक रूपान्तरणमार्फत नवजीवन दिनका लागि विशेष योजना ल्याइने बताए।

हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षा, प्रांगारिक खेती तथा वातावरणीय सन्तुलनमा याक पालनको महत्त्वपूर्ण भूमिका छ। मन्त्री अधिकारीले याक-चौँरी संरक्षणका लागि आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्न लागिएको जानकारी दिए। उनले यसबारे स्थानीय सरकारलाई पनि जिम्मेवार बनाइने बताए।

याक-चौँरी हिमाली भेगको गहना भएका कारण यस जनावरको संरक्षण गर्दा पर्यटन प्रवर्धनमा पनि सहयोग पुग्ने मन्त्री अधिकारीको दाबी छ। ‘याक पालनको संरक्षण र प्रवद्र्धनका लागि संगठित प्रयास आवश्यक देखियो। यसका लागि जैविक विविधता संरक्षण र ग्रामीण जीवनशैली सशक्तीकरणका लागि तीनै तहका सरकारले साझा योजना बनाउनुपर्छ’, उनले भने।

याक संरक्षण र दिगो उपयोगमार्फत हिमाली क्षेत्रको खाद्य सुरक्षा, जलवायु अनुकूलन र याकका लागि सन्तुलन वातारण सिर्जना गर्नुपर्ने उनको भनाइ छ।

याक चौँरी कृषक महासंघ नेपालका अध्यक्ष दावा साङ्ग्बु शेर्पाका अनुसार याक संरक्षणसँगै पालनका लागि भौगोलिक चुनौती, बसाइँ सराइ, चरन क्षेत्र अभाव, प्रजननसम्बन्धी समस्या रहेको बताए। उनले याक संरक्षणमा सरकारले औपचारिक कार्यक्रम पहिलो पटक गरे पनि ठोस योजना ल्याउन नसकेको गुनासो गरे।

‘जंगली जनावरको आक्रमण, पालक किसान घट्नु र जलवायु परिवर्तन जस्ता कारण नेपालमा याकको संख्या घट्दै गएको छ। सरकारले याक जोगाउन भन्दै स्थानीय तहबाट सामान्य पैसा दिएजस्तो गरेर टार्ने गरेको छ। याक उत्पादनमा कुनै प्रभाव परेको छैन’, उनले भने। याकको शुद्ध नश्ल संरक्षण, आनुवंशिक सुधार, प्रविधि विस्तार र प्रसारमा सरकारले विशेष योजना ल्याउनुपर्ने उनको माग छ।

सन् १९६१ मा नेपालमा याक-चौँरीको दुई लाख संख्यामा थियो। त्यो संख्या ६०/६२ हजारमा झरेको महासंघले जनाएको छ। हाल नेपालमा याक-चौँरीको संख्या ५४ हजार हाराहारीमा छ।

कृषि मन्त्रालयले निकालेको कृषि तथा पशुपन्छी डायरीमा याक-चौँरीको संख्या घटेको देखाइएको छ। आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० बीचमा मात्रै १२ हजारभन्दा धेरै याक-चौँरीको संख्या घटेको मन्त्रालयको तथ्यांक छ।

२०७७/७८ मा ६५ हजार संख्यामा रहेका याक गत वर्षसम्म ५३ हजारमा सीमित भएको कृषि मन्त्रालयले जनाएको छ।

पशुसेवा विभागको तथ्यांकअनुसार २०७७/७८ मा ६५ हजार ४ सय ६ याक थिए भने २ हजार ८ सय ४५ वटा चोरी भई घटेर २०७८/७९ मा ६२ हजार ५ सय ६१ पुगेको छ। २०७९/८० मा ५३ हजार १ सय ९५ वटा याक, नाक तथा चौँरी रहेको विभागको तथ्यांक छ।

याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा समावेश गरिएको छ। सरकारले याक-चौँरी संरक्षणका लागि बजेट छुट्याउन नसकेको कृषिविज्ञहरुको आरोप छ।

पूर्वकृषि सचिव तथा कृषिविज्ञ राजेन्द्र भारीले याक-चौँरीको प्रजनन सुधार तथा नश्ल सुधारबारे तीनै तहको सरकार गम्भीर हुनु आवश्यक रहेको बताए।

उनले याक-चौँरी घट्दो क्रममा देखिएका कारण संरक्षणका लागि तत्काल योजना बनाउनुपर्ने उनले बताए। उनले भने, ‘ठोस योजना ल्याएर याक स्रोत केन्द्र विकास र उत्पादन केन्द्र खोल्नुपर्छ।’

याकको छाला र पुच्छरबाट बन्ने वस्तु निर्यातको प्रचुर सम्भावना रहेको याक पालक किसान बताउँछन्। विश्व प्रसिद्ध याक चिज ओमेगा-३ फ्याट्टी एसिड नेपालमा मात्र उत्पादन हुन्छ। चौँरीको दूधबाट बनेको छुर्पी, दही, प्रसिद्ध दुग्धका परिकार हिमाली क्षेत्रका किसानका आम्दानीको प्रमुख स्रोत हुन्।

हिमाली क्षेत्रको सभ्यताका रूपमा समेत याक रहेकोमा संरक्षण गर्दा रोजगारी पनि सिर्जना हुन्छ। पर्यटन प्रवर्धनमा पनि याक आकर्षणको केन्द्र बन्ने सम्भावना छ।

प्रकाशित: १० वैशाख २०८२ २१:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast