
सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले संघीय सरकारका कारण दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित भएको आरोप लगाएका छन्। खेलकुद क्षेत्रसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधि र प्रशिक्षकहरूसँग शुक्रबार भएको भेटमा उनले यस्तो आरोप लगाएका हुन्।
मुख्यमन्त्री कँडेलले प्रतियोगिता स्थगित हुनुमा प्रदेश सरकारको कुनै दोष नरहेको दाबी गरे।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ ३ देखि १० गतेसम्म कर्णालीमा आयोजना हुने तय भएको थियो।
पटकपटक प्रतियोगिताको मिति सर्दासमेत आफूले खेल सुनिश्चित हुने गरी काम गर्न संघीय खेलकुद मन्त्रालयलाई सुझाव दिएको मुख्यमन्त्री कँडेलले बताए। प्रतियोगिताका लागि आवश्यक तयारीका सम्बन्धमा संघीय खेलकुद मन्त्रालय अलमलमा परेको अनुभव आफूले गरेको उनको भनाइ थियो।
मुख्यमन्त्री कँडेलले प्रतियोगिताका लागि सुर्खेतमा सचिवालय स्थापना भए पनि देखिने गरी काम नभएको बताए।
खेलकुद प्रतियोगिता कर्णालीमा हुने भए पनि मुख्य आयोजक संघीय सरकार भएकाले पूर्वाधारमा प्रदेशलाई सहयोगका लागि गरिएको आग्रहको समेत सुनुवाइ नभएको कँडेलले जानकारी दिए।
उनले भने,‘विगतमा अन्यत्र आयोजना गरिएको राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाधारमा करोडौँ खर्च गर्ने संघीय सरकारले कर्णाली प्रदेशमा पनि लगानी गर्नुपथ्र्यो। तर, पूर्वाधारमा कुनै लगानी भएन।’
मुख्यमन्त्री कँडेलले दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्न प्रदेश सरकारबाट कुनै पनि कमी हुन नदिने उल्लेख गरे। उनले भने,‘आयोजक केन्द्र भए पनि कर्णालीको भविष्यसँग जोडिएको प्रतियोगिता सम्पन्न गर्न प्रदेश सरकारको तर्फबाट पूरै सहयोग र सहकार्य हुन्छ।’
फरक प्रसंगमा मुख्यमन्त्री कँडेलले रंगशालाको काम सकेर हस्तान्तरण भएको दिन भुक्तानीका लागि कुनै समस्या नहुने बताए।
उनले भने, ‘निर्माण कम्पनीले कुनैबेला एक प्रतिशत काम बाँकी छ भन्ने, कुनैबेला सम्पन्न भयो भन्ने खालको कुरा गरिरहेको छ। तर, रंगशाला हस्तान्तरण भएको छैन। काम सम्पन्न भएर हस्तान्तरण भएकै दिन बाँकी रकम दिन सरकार तयार छ, हामीलाई कुनै समस्या छैन।’
उनले निर्माण व्यवसायीले काम सकेर रंगशाला हस्तान्तरण गर्नुभन्दा बहानाबाजी गरिरहेको आरोप लगाए।