पोखरा विमानस्थल : स्थलगत अनुगमनपछि प्रतिवेदन तयार, समितिमा छलफलपछि निर्णय

हिमाल प्रेस ५ वैशाख २०८२ ६:४३ | Friday, April 18, 2025
पोखरा विमानस्थल : स्थलगत अनुगमनपछि प्रतिवेदन तयार, समितिमा छलफलपछि निर्णय पोखरा अन्तर्राष्ट्रिय विमानस्थल।

काठमाडौँ- संसद्को सार्वजनिक लेखा समितिमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्बन्धमा उपसमितिले तयार पारेको अध्ययन प्रतिवेदन पेस भएको छ। समितिले राजेन्द्र लिङ्देनको संयोजकत्वमा उपसमिति गठन गरेर सो विमानस्थल निर्माणका सम्बन्धमा भएको समग्र पक्षको अध्ययन गरेको थियो।

उपसमितिमा सांसद अर्जुननरसिंह केसी, अमनलाल मोदी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, तारा लामा तामाङ, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, प्रेमबहादुर आले र रामकृष्ण यादव सदस्य थिए। उपसमितिको प्रतिवेदन समितिमा पेस हुने र आवश्यक छलफलपछि निर्णय हुने समितिले जनाएको छ।

विभिन्न क्षेत्र र निकायबाट प्रश्न उठेपछि संसदीय समितिको २०८१ जेठ २७ को निर्णयबमोजिम अध्ययन तथा अनुगमन गरेको थियो। २०८१ असार २३ देखि २५ गतेसम्म लिङ्देन संयोजकत्वको उपसमितिले स्थलगत अध्ययन गरेको थियो।

उपसमितिले विमानस्थल निर्माणमा संलग्न सरोकारवाला निकाय, स्थानीय बासिन्दा तथा विज्ञहरूसँग आवश्यक छलफल गरेको थियो। उपसमितिले तयार पारेको प्रतिवेदनमा समग्र पक्षका बारेमा उल्लेख गरिएको छ। विमानस्थलको भौतिक संरचना, उपकरण, धावनमार्ग तथा विमानस्थल वरिपरिको स्थल, कटान गरिएको छिनेडाँडाको पनि स्थलगत अनुमगन गरेको थियो।

चीनको एक्जिम बैंकको ऋण सहयोगमा करिब २२ अर्ब लागतमा सो विमानस्थल निर्माण भएको हो। सो विमानस्थल २९ डिसेम्बर, २०२२ मा निर्माण सम्पन्न भई १ जनवरी २०२३ (२०७९ पुस १७ गते)देखि सञ्चालनमा आएको हो।

सो विमानस्थलमा केही अन्तर्राष्ट्रिय चार्टर उडानबाहेक अन्य अन्तर्राष्ट्रिय उडान हुनसकेको छैन। हाल सो विमानस्थलबाट नियमित रूपमा आन्तरिक उडान मात्र भइरहेको छ। उपसमितिले तयार पारेको प्रतिवेदनको आवश्यक अध्ययनपछि उपयुक्त निर्णयमा पुगिने समितिले जनाएको छ।

प्रकाशित: ५ वैशाख २०८२ ६:४३ | Friday, April 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast