
काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको आलोचना गरेका छन्। उनले दुई ठूला दल मिलेर गठन भएको सरकारले पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको बताएका हुन्।
बौद्धिक पेसाकर्मी अभियान परिषद्ले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले सरकार ट्याक्टरको गतिमा बढेको र नेतृत्वमा जोस, उत्साह र समर्पण नरहेको आरोप लगाए।
नागरिकको अवस्था बदल्न व्यवस्था बदल्ने कुरामा छलफल गर्न आवश्यक नरहेको भन्दै उनले नेतृत्वको शैलीको कारण जनताको अवस्था नबदलिएको धारणा राखे। यसका लागि नेतृत्वको शैली वा नेतृत्व नै बदल्न जरुरी रहेको थापाको भनाइ छ।
महामन्त्री थापाले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच हुने गरेकाले मुलुकको अर्थतन्त्रमा समस्या देखिएको बताए। थापाले राष्ट्र बैंकको गभर्नरबारे छलफल हुँदा बिचौलियाको मान्छे भनेर खुलारुपमा बहस र छलफल हुने अवस्था उचित नभएको बताए। उनले देशमा देखिएका समस्या समाधान कांग्रेसले गर्छ भन्ने भरोसा जनतालाई अनुभव गराउन सक्नुपर्नेमा जोड दिए।