‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ मा कालजयी गीतले सभाहल गुञ्जायमान

हिमाल प्रेस ३० चैत २०८१ २०:१५ | Saturday, April 12, 2025
‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ मा कालजयी गीतले सभाहल गुञ्जायमान

पोखरा– नेपाली सांगीतिक क्षेत्रका नक्षत्र स्वरसाम्राज्ञी अरुणा लामा र तारादेवीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पोखरामा शनिबार उनीहरुका कालजयी गीतले सभाहल गुञ्जायमान भयो।

पोखरेली महिला कलाकारको साझा संस्था हार्मोनी र एभरेस्ट एफएमको संयुक्त आयोजनामा इभेन्ट सेन्टरमा आयोजित ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ मा पोखरेली कलाकारले अरुणा लामा र तारादेवीका कालजयी गीत गुञ्जाएका हुन्।

कला, साहित्यका अध्येता प्रकाश सायमीले उनीहरुका आरोहअवरोहसँगै विभिन्न गीतसँग सम्बन्धित नसुनिएका कथा सुनाएर कार्यक्रम सुरुआत गरेका थिए।

साथै, हार्मोनीमा आबद्ध कलाकारले सामूहिकरुपमा देवी बन्दना गाएर सांगीतिक कार्यक्रम शुभारम्भ भयो। लगत्तै देवी गुरुङले ‘उडी जाउँ भने’, लक्ष्मी गिरीले ‘काली पारे दाइ कति राम्रो’ एलिना गुरुङले ‘भेटिनु छुटिनु त के हो र’ गीत गाउँदै सांगीतिक माहोल तताए।

रजनी ऋदम राईले माया गर्नेहरुका लागि समर्पित ‘फूलै फूलको मौसम तिमीलाई’ गाउँदा होस् वा कौशल्या गुरुङले ‘यति धेरै माया दिई’ गाउँदा दर्शक पुराना दिनमा ‘नोस्टाल्जिक’ बने।

कलाकार एकपछि अर्को गर्दै स्टेज चढ्दै जाँदा सांगीतिक माहोल तातिदै गयो।
गायिका ईतु जोजिजूले ‘उकाली ओरालीहरुमा’ गाउँदा होस् वा उनले आफ्ना पति रामभक्त जोजिजूसँग युगल स्वरमा ‘लुकुँ लुकुँ लाग्यो मलाई’ गाउँदा दर्शकको ताली पाइरह्यो।

गायिका शीतल थापाले ‘सागुरी बारि नि है’ र शीतलले रामभक्त जोजिजूसँग युगल स्वरमा ‘ए कान्छा मलाई सुनको तारा’ तथा मीतु पालले ‘तिम्रा पाउहरूमा म’ गीत गाउँदा सांगीतिक महोल नै छुट्टै बनेको थियो।

काठमाडौँमा क्रियाशील महिला गायिकाको सांगीतिक समूह सुरशक्ति नारी समूहकी अध्यक्ष संगीता राना प्रधानले ‘फूललाई सोधेँ’ गीत गुञ्जाउँदा सांगीतक माहोल सुनमा सुगन्ध थपेझैँ भएको थियो। यस्तै, बोबी सुनारले ‘पोहोर साल’ गीतको बोलमा ९धुन० सुनाएर दर्शकलाई मन्त्रमुग्ध बनाइन्।

त्यस्तै, पोखरेली कलाकारले समूह गानतर्फ ‘यो मायालाई भरोसा छैन’, ‘हाम्रो साहेब’ (मायाप्रिती चलचित्रबाट) र ‘सुङावा जस्तो जीवन’ (शान्तिदीप चलचित्रबाट) प्रस्तुत गर्दै कार्यक्रमलाई भव्य बनाए।

एभरेस्ट मिडिया हाउसका अध्यक्ष कर्मा तमुको अध्यक्षतामा भएको कार्यक्रमका संयोजक एवं एभरेस्ट एफएमका सम्पादक दीपेन्द्र श्रेष्ठले एफएमले स्वरसाम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसमा हरेक वर्ष माघ तेस्रो शनिबार कार्यक्रम गर्दै आएको बताए।

गत माघमा हार्मोनीका एक सदस्य सञ्जीव पालको असामयिक निधनले निर्धारित कार्यक्रम सरेको हो। तारादेवीको माघ १० र अरुणा लामाको माघ २२ गते स्मृति दिवस पर्छ। यसपालिको कार्यक्रम तेस्रो संस्करण हो।

प्रकाशित: ३० चैत २०८१ २०:१५ | Saturday, April 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast