रास्वपाले सरकारलाई विश्‍वासको मत दिन अन्य पार्टीलाई आग्रह गर्ने

हिमाल प्रेस २४ पुष २०७९ २१:०३
4
SHARES
रास्वपाले सरकारलाई विश्‍वासको मत दिन अन्य पार्टीलाई आग्रह गर्ने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिनका लागि अन्य राजनीतिक दलहरूलाई आग्रह गर्ने निर्णय गरेको छ।

आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले बैठकमा सरकारले प्रस्तुत गर्न लागेको न्यूनतम साझा कार्यक्रमबारे छलफल गरेको बताए।

बैठकमा पार्टीका तर्फबाट महामन्त्री एवम् न्युनतम साझा कार्याक्रम कार्यदलका सदस्य मुकुल ढकालले न्युनतम साझा कार्यक्रमबारे जानकारी गराएको उनको भनाइ छ। न्यूनतम साझा कार्यक्रममा आफ्नो पार्टीले अघि सारेका मुद्दाहरू स्थापित भएको उनले जानकारी दिए। साथै बैठकमा नवनिर्वाचित सांसदहरूले आफ्नो गृहजिल्लाको भ्रमणबारे पनि जानकारी गराएको उनले बताए।

‘विशेष गरी सरकारले प्रस्तुत गर्न लागेको न्यूनतम साझा कार्यक्रममा हाम्रो छलफल भयो। पार्टीका तर्फबाट महामन्त्री मुकुल ढकाल जो न्युनतम साझा कार्यक्रमको समितिमा सदस्य हुनुहुन्थ्यो,’ उनले भने, ‘यसका साथै जिल्लामा सांसदहरूको अवस्था जनताको के छ भन्नेबारे छलफल भयो।’

सोमबार १० बजे पुनः संसदीय दलको बैठक बस्ने रास्वपाले जानकारी दिएको छ।

प्रकाशित: २४ पुष २०७९ २१:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 9 =