
काठमाडौँ – उपत्यकाको विभिन्न स्थानमा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् गोविन्द झाले उपत्यकालगाायतका विभिन्न स्थानमा वर्षा भइरहेको र बाँकी स्थानमा पनि साँझसम्म वर्षा हुने जानकारी दिए।
‘अपराह्न ३ बजेसम्ममा उपत्यकाको सबै स्थानमा वर्षा हुन सकिरहेको छैन। भक्तपुर र ललितपुरको पनि विभिन्न स्थानमा वर्षा भइरहेको छ,’ उनले भने, ‘बिहीबार बिहान र दिउँसो पनि वर्षा हुन्छ। यसपालिको वर्षाले वायु प्रदूषण घटने र किसानलाई राहत पुग्छ।’
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा मुलुकको लुम्बिनी प्रदेशसम्मका अधिकांश भूभागमा वर्षा हुने मौसमविद् झाको भनाइ छ। उनका अनुसार मध्यपश्चिम र सुदूरपश्चिमका पहाडी भूभागमा मात्रै वर्षाको सम्भावना छ। धेरै समयपछिको वर्षाले सुक्खाको अवस्था हट्ने उनले बताए।
वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले हावाको गति बढ्दा र आकाशबाट पानी पर्दा वायु प्रदूषण पनि कम हुने बताए। ‘काठमाडौँ कचौरा आकारमा पनि छ। पानी परेमा सतहमा रहेको प्रदूषण तल खस्छ,’ उनले भने।
‘एयर क्वालिटी इन्डेक्स’ को तथ्यांकअनुसार बुधबार काठमाडौँ उपत्यकाको वायु प्रदूषण एक सय ७७ एक्युआई रहेको छ।