 
                             
                                            विराटनगर- नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले आन्दोलनरत शिक्षकहरूलाई विद्यालय फर्कन आग्रह गरेका छन्। सरकार र दलहरू शिक्षकका मागप्रति संवेदनशील रहेको बताउँदै उनले विद्यालय शिक्षाको नियमितता कायम गर्न आग्रह गरेका हुन्।
‘विद्यालय फर्किएर शैक्षिक क्रियाकलापलाई नियमित रूपमा अघि बढाउन म उहाँहरूलाई विनम्रतापूर्वक अपिल गर्दछु,’ सोमबार विराटनगर विमानस्थलमा पत्रकारसँग उनले भने।
एमाले सचिव भट्टराईका अनुसार विद्यालय शिक्षा विधेयक संसद्को आगामी बर्खे एवं बजेट अधिवेशनमा प्रस्तुत गरी दुबै सदनबाट पारित गरिने तयारीमा सरकार रहेको छ। ‘उहाँहरूले भनेजस्तै विधेयक संसद् सुरु भएको एक साताभित्र प्रस्तुत गर्छौं,’ उनले भने, ‘प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैबाट ऐनको रूपमा पारित गराउने प्रतिबद्धता छ।’
शिक्षकहरूले शैक्षिक क्षेत्रलाई अन्योलमा पार्ने गरी आन्दोलनमा उत्रिन नहुने भन्दै उनले शिक्षकहरूको मागलाई संसद्का सबै दलले सकारात्मक रूपमा लिएको जानकारी दिए।
भट्टराईले वैशाख २ गतेदेखि सुरु हुने नयाँ भर्ना प्रक्रियालाई सहज बनाउने गरी शिक्षकहरूले आन्दोलन अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याए। ‘नयाँ रिजल्ट निकाल्ने,उत्तरपुस्तिका जाँच गर्ने काम अघि बढाउनुपर्छ,’ उनले भने, ‘सरकारसँग संवाद गरी शिक्षकले जिम्मेवारीमा फर्कनुपर्छ।’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             ![सरकार शिक्षा ऐन नल्याएर शिक्षकविरुद्ध मिडियाबाजीमा उत्रियो : नानुमाया पराजुली [अन्तरवार्ता]](https://himalpress.com/wp-content/uploads/2025/08/nanumaya-parajuli.jpg) 
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 