धोनीले ३० रन प्रहार गर्दा पनि हारबाट जोगिएन चेन्नई, आरसीबी शीर्षमा

हिमाल प्रेस १६ चैत २०८१ ७:५६ | Saturday, March 29, 2025
धोनीले ३० रन प्रहार गर्दा पनि हारबाट जोगिएन चेन्नई, आरसीबी शीर्षमा

काठमाडौँ- रोयल्स च्यालेन्जर्स बैंग्लुरुले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किङ्समाथि ऐतिहासिक जित निकालेको छ।

शुक्रबार सम्पन्न दोस्रो खेलमा बैंग्लुरु ५० रनले विजयी भएको हो। बैंग्लुरुले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट्स राइडर्सलाई सात विकेटले पराजित गरेको थियो। योसहित बैंग्लुरु शीर्ष स्थानमा उक्लिएको छ। चेन्नईको भने यो सिजन पहिलो हार हो।

पहिलो खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई चार विकेटले पराजित गरेको थियो। चेन्नई दुई अंकसहित सातौं स्थानमा छ। बैंग्लुरुले प्रस्तुत गरेको १९७ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १४६ रन मात्र बनाउन सक्यो।

चेन्नईका ओपनर रचिन रवीन्द्रले सर्वाधिक ४१ रन बनाए। ३१ बल खेलेका उनले पाँच चौका प्रहार गरे। रवीन्द्र जडेजाले १९ बलमा दुई चौका र एक छक्कासहित २५ रनको योगदान दिए पनि हारलाई टार्न सकेनन्।

शिभव दुवे १९ रनमा आउट हुँदा महेन्द्रसिंह धोनी ३० रनमा अविजित रहे। अन्य ब्याटरको प्रदर्शन भने उल्लेख्य रहेन।

बैंग्लुरुका जोश हेजलवुडले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले २१ रन खर्चिए। यश दयाल र लियाम लिभिङस्टनले समान दुई विकेट लिँदा भुवनेश्वर कुमारको नाममा एक विकेट रह्यो।

त्यसअघि चेपकस्थित एमए चिदामबरम स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बैंग्लुरुले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९६ रनको योगफल तयार गरेको थियो।

बैंग्लुरुका कप्तान रजत पाटीदारले सर्वाधिक ५१ रन बनाए। ३२ बल खेलेका उनले चार चौका र तीन छक्का प्रहार गरे। फिल साल्ट ३२, विराट कोहली ३१, देव दत्तपडिकल २७ र जितेश शर्मा १० रनमा आउट हुँदा टिम डेभिड २२ रनमा अविजित रहे।

अन्यको ब्याट भने चल्न सकेन। चेन्नईका नूर अहमदले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३६ रन खर्चिए।

 

प्रकाशित: १६ चैत २०८१ ७:५६ | Saturday, March 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast