सुन तस्करी प्रकरणमा कैद भुक्तान गरेका लामा २५ करोड नगदसहित पक्राउ

हिमाल प्रेस ५ चैत २०८१ १५:५१
28
SHARES
सुन तस्करी प्रकरणमा कैद भुक्तान गरेका लामा २५ करोड नगदसहित पक्राउ

काठमाडौँ- प्रहरीले ठूलो परिमाणमा विदेशी मुद्रासहित एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ।

प्रहरीले सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका– १ घर भएका ४३ वर्षीय कुसान लामालाई टोखा नगरपालिका–१ झोर क्षेत्रबाट विदेशी मुद्रासहित पक्राउ गरेको हो।

सोमबार राति ट्रकसहित पक्राउ परेका लामालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले मंगलबार सार्वजनिक गरेको छ। प्रहरीले गोप्य सूचनाको आधारमा ना ७ ख १६७२ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले लामालाई ठूलो परिमाणमा यूरो र अमेरिकन डलरसहित नियन्त्रणमा लिएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले ट्रकबाट नेपाली २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ बराबरको अमेरिकी डलर यूरो बरामद भएको जानकारी दिए।

ट्रकमा फल्स बटम बनाएर रकम लुकाइ छिपाइ राखेर केरूङतर्फ जाने क्रममा लामालाई नियन्त्रणमा लिएको एसएसपी बस्नेतले बताए।

उनका अनुसार पक्राउ परेका लामा चालक भइ भरियाका रूपमा काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बस्नेतले भने,‘उनले भरिया भएर काम गरेको बताएका छन्। थप अनुसन्धान भइरहेको छ।’

भरियाको रूपमा काम गरेको बताए पनि लामाले बरामद भएको रकम कसको हो भन्ने नखुलाएको एसएसपी बस्नेतले बताए।

लामा यसअघि सुन तस्करी प्रकरणमा समेत पक्राउ परिसकेका हुन्। सात किलो सुन तस्करीमा प्रकरणमा उनी जेल परेका थिए।

एसएसपी बस्नेतले पक्राउ परेका लामालाई थप अनुसन्धानका लागि राजश्व विभाग हरिहर भवन पठाइएको जानकारी दिए।

प्रहरीले उनको साथबाट यूरो र डलर, एक थान मोबाइलसहित गाडी बरामद गरेको छ। लामा यसअघि पाँच वर्ष कैद भुक्तान गरेर छुटेका थिए।

प्रकाशित: ५ चैत २०८१ १५:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast