
पोखरा– पोखराको लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसमा मंगलबार अनौठो दृश्य छ। बाहिर विद्यार्थीको अनशन भइरहँदा भित्र भने स्ववियुको मतदान चलिरहेको छ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) को आन्तरिक विवादले निर्वाचन समितिले सचिव पद मनोनयनमा नाम समावेश नगरिएको भन्दै एउटा समूह रिले अनशनमा बसेको छ।
उनीहरु मतदानको अघिल्लो दिन सोमबारदेखि क्याम्पसको मूल गेट अगाडि रिले अनशनमा बसेका हुन्। उनीहरुले बाहिर नाराबाजी गरिरहेका छन् भने भित्र विद्यार्थीले मतदान प्रक्रियामा भाग लिएका छन्। सुरुआतमा क्याम्पसको भित्रै होस्टेलमा बस्नेहरुले भने मतदान सुरु गरेका थिए।
यस विषयमा असन्तुष्ट पक्ष नेविसंघ केन्द्रीय सदस्यसमेत रहेका केन्द्रीय प्रतिनिधि संस्कार कोइरालाले यो चुनाव नाममात्रको चुनाव भएको भन्दै तत्काल स्थगनको माग गरे। उनले भने, ‘क्याम्पस प्रमुख र निर्वाचन समितिले राजीनामा नदिएसम्म यो चुनावमा जाँदैनौँ।’
गत साता मनोनयनमा सचिवको उम्मेदवार कायम हुनेमा निर्वाचन समितिले आश्वासन दिएर पठाए पनि अन्त्यमा दाबी विरोध नपरेको सचविको नामबिनै अन्तिम नामावली प्रकाशन गरिएको कोइरालाले आरोप लगाए।
तर, नेपाली कांग्रेस जिल्ला नेतृत्वले नेविसंघ सचिवबिनै दीपक थापा नेतृत्वको निर्वाचन समितिलाई मतदान गराउन सहमति दिएपछि मतदान भएको हो।
नेविसंघले सौगात पण्डितको अध्यक्षतामा निर्वाचन प्रक्रियामा जान मनोनयन दर्ता गराएका थिए। आफ्नो रोजाइको व्यक्तिले सचिवमा भने टिकट नपाएको भन्दै मनोनयन पत्र च्यातिएको नेविसंघकै अर्को पक्षको आरोप छ। नेविसंघ केन्द्रीय समितिले यो पदमा प्रशान्त उपाध्यायलाई उम्मेदवार बनाउन परिपत्र गरेको थियो।
नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको नामबाटै परिपत्र भए पनि काँग्रेस सभापति किशोरदत्त बरालसमेतले सचिवबिनै चुनावमा जान सकिने भन्दै निर्वाचन समितिलाई काम अघि बढाउन स्वीकृति दिएका थिए।
यो विषयमा नेविसंघको एउटा पक्ष असन्तुष्ट बनेको हो। यस क्याम्पसमा २०४१ जना विद्यार्थी मतदाता छन्। दुई वर्षअघि पनि यहाँ नेविसंघकै आन्तरिक कलहले चुनाव रोकिएको थियो।