
काठमाडौँ- नेपाल बिजनेस समिट २०२५ को दोस्रो संस्करणका लागि वर्ल्डलिंक कम्युनिकेशन्स इन्टरनेट साझेदारको रूपमा चयन भएको छ। आगामी २०८२ साल वैशाख ७ गते (अप्रिल २०२५) काठमाडौँमा आयोजना हुने सम्मेलनका लागि साझेदारीबारे शुक्रबार वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष दिलीप अग्रवाल र नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई) का कार्यकारी अध्यक्ष विशाल गैरे बीच समझदारी पत्रमा हस्ताक्षर भयो।
नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल चेम्बर अफ कमर्स (एनसिसी) तथा नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई) द्वारा आयोजित यस सम्मेलनमा विभिन्न मन्त्रालय, स्थानीय तह, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदार निकायहरूको सहभागिता रहनेछ।
स्टार्टअप, इनोभेसन र प्रविधिमा प्राथमिकता दिनुपर्ने
वर्ल्डलिंक कम्युनिकेशन्सका अध्यक्ष दिलीप अग्रवालले स्टार्टअप, नवप्रवर्तन (इनोभेसन) र सूचना प्रविधिको विकासमा सरकारको प्राथमिकता आवश्यक रहेको उल्लेख गरे। उनले राष्ट्रियस्तरका यस्ता सम्मेलनहरूले सरकारी नीतिनिर्माणलाई सहज बनाउनुका साथै निजी क्षेत्रमैत्री वातावरण निर्माणमा टेवा पुर्याउने बताए।
नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष एवं सम्मेलन आयोजक समितिका संयोजक विशाल गैरेका अनुसार, सम्मेलनमा संघीय सरकारका उच्च राजनीतिक एवं प्रशासनिक अधिकारी, प्रदेशका मुख्यमन्त्री, स्थानीय निकायका प्रमुख, अर्थविद्, बैंकिङ क्षेत्रका विज्ञ, निजी क्षेत्रका अग्रणी संस्था तथा उद्यमीहरूको सहभागिता रहनेछ।
यस वर्ष ‘भविष्य निर्माणका लागि आर्थिक, बैंकिङ, औद्योगिक तथा व्यापारिक सम्भावनाहरू’ भन्ने नारासहित सम्मेलन आयोजना हुँदैछ। विभिन्न क्षेत्रका विज्ञ, युवा उद्यमी तथा नवप्रवर्तकबीच गहन छलफल, बहस र अन्तर्क्रिया गरिनेछ। यी बहसबाट प्राप्त सुझावहरूलाई नीतिगत सुधारका लागि प्रतिवेदन तयार गरी संघीय, प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ।